जनता टाइम्स

१९ माघ २०७९, बिहीबार १५:१५

अष्ट्रेलियाको नयाँ पाँच डलरको नोटमा हुने छैन चाल्र्स तृतीयको नाम


सिड्नी, १९ माघ । अष्ट्रेलियाको नयाँ पाँच डलरको नोटमा राजा चाल्र्स तृतीयको नाम नराखिने देशको केन्द्रीय बैंकले घोषणा गरेको छ । नयाँ डिजाइनले आदिवासी अस्ट्रेलियालीहरूको “संस्कृति र इतिहास“ लाई सम्मान दिनेछ, रिजर्भ बैंक अफ अस्ट्रेलिया (आरबीए) ले भनेको छ ।

पाँच डलरको नोटको हालको डिजाइनमा स्वर्गीय महारानी एलिजाबेथ द्वितीयको तस्विर देखिन्छ । गत वर्ष रानीको मृत्युले अष्ट्रेलियाको संवैधानिक राजतन्त्रको भविष्यको बारेमा बहस पुनः सुरु गरेको छ । ‘रिजर्व बैंक बोर्डले यो निर्णय अष्ट्रेलिया सरकारसँग परामर्श पछि गरेको हो, जसले यो परिवर्तनलाई समर्थन गर्दछ,’ बैंकले एक विज्ञप्तिमा भनेको छ ।

‘बैंकले ५ डलरको नोट डिजाइन गर्न पहिलो अष्ट्रेलियालीहरूसँग परामर्श गर्नेछ । नयाँ नोट डिजाइन गर्न र छाप्न धेरै वर्ष लाग्नेछ । यस बीचमा, हालको ५ डलरको नोट जारी रहनेछ’ बैंकले भनेको छ । बैंकले नयाँ पाँच डलरको नोटको डिजाइन कहिले सार्वजनिक गर्ने भनेर मिति भने तय गरेको छैन ।