जनता टाइम्स

३२ श्रावण २०७६, शनिबार ०७:३६

निजामती कर्मचारीको उमेर हद ६० वर्ष


काठमाडौं, साउन ३२  निजामती कर्मचारीको उमेर हद ६० वर्ष पुर्याइने भएको छ । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा दफावार छलफलको क्रममा रहेको संघीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको उमेर हद ६० वर्ष पुर्याउने विषयमा सहमति जुटेको हो ।
मुलुकको प्रशासन हाक्नेगरी बनाउन लागिएको संघीय निजामती सेवा ऐनमा कर्मचारीको उमेर हदसम्बन्धी नयाँ व्यवस्था गर्न लागिएको हो । हाल निजामती कर्मचारीको उमेर हद ५८ वर्ष रहेको छ । संघीय निजामती सेवा ऐनमा कर्मचारीको उमेर हद ६० भएमा प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐनमा पनि कर्मचारीको उमेर हद ६० वर्ष नै हुनेछ । संघीय निजामती सेवा ऐन प्रदेश र स्थानीय सेवा ऐनको मार्गदर्शक ऐन हुनेछ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुरुमा संघीय निजामती सेवा विधेयकमा कर्मचारीको उमेर हद हाल कायम रहेकै ५८ वर्ष बनाउन प्रस्ताव गरेको थियो ।  विधेयकमाथि छलफल गर्दा सांसदहरू कर्मचारीको उमेर हद ५८ वर्षबाट बढाएर ६० वर्ष पुर्याउन समहत भएको स्रोतले जानकारी दिएको छ ।