३२ श्रावण २०७६, शनिबार ००:००

एक वर्षमा ४५ लाख विरुवा रोपिए


काठमाडौँ, साउन ३२

पर्यावरणीय सन्तुलन तथा फलफूलको आयातलाई प्रतिस्थापन गर्ने उद्देश्यसहित सुरु गरिएको ‘एक नेपाली, एक फलफूलको बिरुवा’ अभियानअन्तर्गत असारसम्ममा ४५ लाख हाराहारी बिरुवा रोपिएको छ ।

अभियानअन्तर्गत तीन वर्षमा तीन करोड बिरुवा रोप्ने योजना छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको जेठ २२ गते विश्व वातावरण दिवसको अवसर पारेर अभियान सुरु गर्नुभएको थियो । त्यसबेला प्रधानमन्त्रीले सिंहदरबार परिसरभित्र लिची र एभोकाडोको बिरुवा रोप्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले यो अभियानलाई एक वर्षमा सीमित नगरी निरन्तरता दिन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता एवं अभियानका संयोजक विनोदबहादुर कुँवरका अनुसार फलफूलका बिरुवा रोपेर देशलाई फलफूलमा आत्मनिर्भर बनाउने योजनासहित यो अभियान थालिएको हो । उहाँले यो अभियान सरकारको मात्र नभई सबैको हुनुपर्ने भन्दै बिरुवालाई आफ्ना सन्तानसरह माया गरेर हुर्काउन सबैसँग आग्रह गर्नुभएको थियो ।

उहाँले उपलब्ध गराउनुभएको तथ्याङ्कअनुसार असारसम्म गण्डकी प्रदेशमा १३ लाख ४८ हजार ६७, प्रदेश ५ मा दश लाख ८३ हजार ६७, प्रदेश ३ मा पाँच लाख २९ हजार ७२६ बिरुवा रोपिएको छ । त्यसैगरी सो अवधिमा कर्णाली प्रदेशमा पाँच लाख १५ हजार ७३४, प्रदेश १ मा तीन लाख ९५ हजार ४९९, सुदूरपश्चिम प्रदेशमा तीन लाख १८ हजार ८८८ र प्रदेश २ मा ७५ हजार ६३९ गरी सातवटै प्रदेशमा जम्मा ४२ लाख ६६ हजार ६२० बिरुवा रोपिएको जानकारी उहाँले दिनुभयो । सबैभन्दा बढी गण्डकी प्रदेशमा र सबैभन्दा कम प्रदेश २ मा वृक्षरोपण गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जानकारीअनुसार सो अवधिमा देशभरि नेपाली सेनाबाट ९० हजार ७५४, नेपाल प्रहरीबाट ७५ हजार ४७९, सशस्त्र प्रहरीबल नेपालबाट २८ हजार ५५६ र बैङ्क तथा वित्तीय संस्था एवं विभिन्न सामाजिक सङ्घसंस्थाबाट देशभरि २५ हजार ४०० गरी जम्मा दुई लाख बीस हजार १८९ वृक्षरोपण गरिएको छ ।

चालू वर्षको सरकारको नीति तथा कार्यक्रममा समेत वनका हरेक नर्सरीमा ३० प्रतिशत फलफूलका बिरुवा अनिवार्य रूपमा उत्पादन गर्ने उल्लेख गरिएको छ । अब वन मन्त्रालयबाट उत्पादन गरिने बिरुवामध्ये ३० प्रतिशत फलफूलको हुने छ । नीति तथा कार्यक्रम कार्यान्वयन गर्नेक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ३० प्रतिशत फलफूलका बिरुवा उत्पादन गर्न वन मन्त्रालयमा परिपत्र भइसकेको छ । अभियान सफल पार्न सबै जिल्लाका प्रमुख, जिल्ला अधिकारी तथा ७५३ वटै स्थानीय तहलाई परिपत्र गरिएको छ । सिंहदरबारभित्र खाली रहेका ठाउँमा पनि फलफूलका बिरुवा लगाउने क्रम जारी छ । एक ठाउँमा एउटा निश्चित प्रकारका फलफूलका बिरुवा रोप्ने अभियानअन्तर्गत परिसरमा ल्वाङ, हर्रोबरो जातिका बोटबिरुवा लगाउँदै आइएको छ ।