जनता टाइम्स

२४ माघ २०७९, मंगलवार १३:०६

चीनका ६ हजार थिएटरमा इंग्लिस विंग्लिस


मुम्बई, २४ माघ । दिवंगत बलिउड अभिनेत्री श्रीदेवी स्टारर फिल्म ‘इंग्लिस विंग्लिस’ रिलिज हुनासाथ दर्शकको प्रिय बनेको थियो । दर्शकले श्रीदेवीको भूमिकालाई निकै मन पराएका थिए । अब यो फिल्म श्रीदेवीको सम्मानमा उहाँको पाँचौं वार्षिकीमा २४ फेब्रुअरीमा पुनः रिलिज हुँदैछ ।

गौरी शिन्देको निर्देशनमा बनेको यो फिल्म सन् २०१२ मा टोरन्टो फिल्म फेस्टिभलबाट वल्र्ड प्रिमियर गरिएको थियो । रोचक कुरा के छ भने श्रीदेवी १५ वर्षपछि चिनियाँ थिएटरमा देखिँदैहुनुहुन्छ । इरोज इन्टरनेसनलका सिइओ कुमारले चीनका ६ हजार थिएटरमा फिल्म रिलिज हुने जानकारी दिनुभएको छ ।

निर्देशक गौरीले फिल्मलाई उहाँको आमाको जीवनबाट प्रभावित भएर बनाउनुभएको हो । फिल्ममा श्रीदेवी एक गृहिणीको भूमिकामा हुनुहुन्छ । जो अमेरिकामा अंग्रेजी सिक्नुहुन्छ र नयाँ साथी बनाउँनुहुन्छ । फिल्ममा आदिल हुसेन, सुमित व्यास, प्रिय आनन्दलगायतको अभिनय छ ।