जनता टाइम्स

३२ श्रावण २०७६, शनिबार १५:०३

नेकपाको सचिवालय बैठक स्थगित : यस्तो छ कारण


काठमाडौं, साउन ३२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलिसम्मका लागि स्थगित भएको छ । पार्टी एकतालाई पुर्णता दिन आज बोलाइएको बैठकमा आवश्यक तयारी नपुगेको कारण स्थगित गरिएको हो ।

निकै जटिल बनेको केन्द्रीय बिभागको नेतृत्व टुंगो लगाएसँगै नेकपाले आज बस्ने सचिवालय बैठकबाट एकताको बाँकी काम सकाएर पुर्णता दिन लागेको थियो । एकताका बाँकी काम टुंग्याउन आज चार बजेका लागि बोलाइएको सचिवालय बैठक भोलिसम्मका लागि स्थगित भएको महासचिव बिष्णु पौडेलले जानकारी दिनुभयो । हिजोको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले अत्यन्तै सही निर्णय लिएर पार्टीभित्रको बिवाद समाधान गरेपछि बाँकी काम सकाउने गरी अवको सचिवालय बैठकको एजेण्डा बनाइएको छ ।

बैठकमा जनवर्गीय संगठनको इन्चार्ज तोकिने छ । यस्तै प्रदेश कमिटी स्तरीय बिशेष कमिटी गठनको एजेण्डा पनि रहेको छ । अहिलेसम्म जिम्मेवारी नपाएका केन्द्रीय सदस्यहरुलाई जनसंगठनको इञ्चार्ज र सहइञ्चार्ज बनाउने गरी प्रस्ताव तयार भएको छ । हिजोको बैठकले नेताहरुको रुचीअनुसार नै जिम्मेवारी दिएकोले अव भोलि बस्ने बैठकले रुची र बिगतमा काम गरेको संगठनकै आधारमा इञ्चार्ज र सहइञ्चार्ज टुंगो लगाउने सचिवालयका एक नेताले जानकारी दिए ।

भोलि बस्ने बैठकमा बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालको वरीयताको बिषयलाई समेत एजेण्डा बनाइएको छ । हिजोकै बैठकमा नेता खनालले आफ्नो बरियता मिलाउने अध्यक्षद्वयको आश्वासन किन पूरा भएन भन्दै कडा रुपमा प्रस्तुत हुनुभएपछि अर्काे बैठकमा छलफल गरी टुंगो लगाउने सहमति बनेको हो । तात्कालिन एमालेमा अध्यक्षपछि खनाल र त्यसपछि नेपालको बरियता रहेको थियो ।

पार्टी एकतापछि आफू अनुपस्थित बैठकबाट बरियता घटाएको भन्दै खनालले आपत्ति जनाउँदै आउनुभएको छ । हिजोको बैठकमा खनालले सो माग गरेपछि नेपालले असहमति जनाउनु भएको थियो । नेकपाले ३२ बिभाग र नीति अध्ययन प्रतिष्ठानको प्रमुख–उपप्रमुखको टुंगो लगाइसकेको छ । भोलिको बैठकले बाँकी रहेका सवै काम टुंग्याएर एकतालाई पुर्णता दिएको घोषणासहित दुई नेताबीचको बरियता बिवादको टुंगो लगाउने छ । नेकपाले एकतालाई पुर्णता दिएर भदौंमा देशब्यापी अभियान थाल्ने योजनासमेत बनाएको छ ।