जनता टाइम्स

३२ श्रावण २०७६, शनिबार १५:२१

सुदूरपश्चिममा वल्के पर्व मनाइँदै


धनगढी, साउा ३२

पिँडालुको कलिलो पात, दूध र दही सगुनको रुपमा मान्यजन, छर छिमेकीलाई बाँडेर मनाइने ‘वल्के चाड’ सुदूरपश्चिम प्रदेशमा हर्षोउल्लासपूर्वक मनाइदै छ । भाद्र सङ्क्रान्तिमा मनाइने यो पर्वको तयारीस्वरुप आज प्रत्येक घरमा मीठामीठा खानाका स्थानीय परिकार पकाउने तयारीका लागि गृहणीलाई भ्याइनभ्याइ हुन्छ ।

काम विशेषले घर बाहिर रहेका पनि वल्के चाड मनाउन आ–आफ्नो घर फर्किन थालेका छन् । यो पर्वमा आफ्ना मान्यजन, इष्टमित्र, छरछिमेकीलाई सगुनका रुपमा पिँडालुको ‘गाभा’अर्थात कलिलो पात, साग, दूध, दही दिएर सम्मान गर्ने र आशीर्वाद साटासाट गर्ने विशिष्ट खालको मौलिक परम्परा रहिआएको छ ।

वल्के पर्वका दिन विवाहिता छोरीलाई माइती घरमा आमन्त्रण गरी लाउन, बावर, माणा, निसौसे, गतानी डुब्कालगायतका स्थानीय खानाका परिकार पकाएर खुवाउने र खाने प्रचलन छ । यो पर्वमा भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिसेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रङ्गाइ रमाइलो गर्ने गरिन्छ ।

यसरी पिसेर लगाइएको भँगेरीको लेदोबाट हत्केला र खुट्टाको औँलाको छाला रातो हुने भई यसले वर्षात्को मौसममा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने छालासम्बन्धी रोगको सङ्क्रमणबाट बच्न सकिने जनविश्वास रहेको छ । रोगको सङ्क्रमणबाट बच्न हात खुट्टा रङ्गाइने हुँदा यो चाडलाई शरीरबाट ‘लुतो फाल्ने’ चाडका रुपमा समेत लिइने गरिन्छ । सांस्कृतिक पर्व ‘ओल्के’मा सार्वजनिक बिदा दिनुपर्ने यहाँका जनताको माग रहँदै आएको छ ।

सदियौँदेखि मानाइदै आइएको यो चाडको रौनक र महत्वका बारेमा पाको उमेरका व्यक्ति जानकार रहे पनि नयाँ पिढीका युवायुवतीमाझ भने यो चाडले प्राथमिकता पाउन छाडेको वल्के चाड मनाउँदै आउनुभएका हरिप्रसाद जोशी बताउनुहुन्छ । सुदूरपश्चिमका मौलिक संस्कृतिका वल्केजस्ता थुप्रै चाडपर्वको मौलिकता हराउन थालेकामा डोटेली समुदायमा चिन्ता व्यक्त गर्न थालिएको छ ।