जनता टाइम्स

१ भाद्र २०७६, आईतवार १०:२६

१९ वर्षिय पूजाको आफ्नै श्रीमानले गरे हत्या


गोरखा, भदौ १

गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा श्रीमानले श्रीमतीको घाटीरेटी हत्या गरेका छन् । स्थानीय २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी श्रीमती पूजा परियारको खुर्पाले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिनुभयो ।

“छिमेकीहरुले दिएको सूचनाको आधारमा प्रहरी तत्काल घटनास्थल पुगेको थियो”, उहाँले भन्नुभयो, “ शनिवार राति १० बजेतिर घटना भएको रहेछ, प्रहरी पुग्दा पूजाको घटनास्थलमै मृत्यु भइसकेको अवस्थामा शव भेटियो ।” प्रहरीका अनुसार मृतकका श्रीमान् याकुव मानसिक रोगी हुन् ।

हत्याका आरोपित याकुवलाई गए राति नै नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । “उनी मानसिक रोगको औषधि खाँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ”, प्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो, “घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।” मृतकको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल गोरखामा राखिएको प्रहरीले जनाएको छ ।