लण्डन, ७ फागुन । गैरआवासीय नेपाली संघले नागरिकता सम्बन्धी विधेयक संसदमा लामो समयदेखि थाँती रहेको प्रति चिन्ता व्यक्त गरेको छ । गैरआवासीय नेपाली संघले नेपाल स्वतन्त्र पार्टीका प्रमुख सचेतकसहित दलका नेताहरुसँगको एक अन्तरक्रिया कार्यक्रम गर्दै यस्तो चिन्ता ब्यक्त गरेको हो । संघका अनुसार नागरिकता सम्बन्धी कानून नबनेका कारण धेरै गैरआवासीय नेपालीहरु अप्ठ्यारोमा परेका छन । गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाले संघले स्थापनाकालदेखि उठाउदै आएको नेपालीको नागरिकताको निरन्तरताको मुद्धा थप जटिल बन्दै गरेको बताउनुभयो ।
थाापाले रवि लामिछाने बिरुद्धको फैसलाले तरंगित र सशंकित बनाएको अभिव्यक्ति दिनुभएको छ । गैरआवासीय नेपाली संघ नेपाल सरकारका अतिरिक्त देशका सबै राजनीतिक दलहरुसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउँद संसदमा थाँती रहेको एनआरएनए सम्बन्धी नागरिकतालाई अगाडि बढाउन उहाँको आग्रह थियो । संघका अर्का अध्यक्ष डा. बद्री केसीले राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक छलाङले विदेशमा रहेका नेपालीहरु उत्साहित रहेको बताउनुभयो ।
उहाँले विदेशमा रहेका नेपालीहरुको नागरिकताको निरन्तरताले गैरआवासीय नेपाली भन्दा नेपाललाई धेरै लाभ हुने विचार व्यक्त गर्नुभयो । नेपालको संविधानले गैरआवासीय नेपाली नागरिकताको ग्यारेन्टी गरे पनि अहिलेसम्म नागरिकता वितरणको लागि कानूनी बाटो नखोलिएको प्रति उहाँले ध्यानार्कण गराउनुभएको छ । गैरआवासीय नेपाली सम्बन्धी ऐन २०७७ ल्याउनको लागि गृहकार्य गरिए पनि संसदबाट विधेयक पारित नहुँदा अधिकारहरु पाउने भने पनि अहिलेसम्म अधिकार हात नपरेको उहाँको भनाइ छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नागरिकताको विषय नेपालमा निकै पेचिलो बन्दै गएको बताउनुभयो । उहाँले गैरआवासीय नेपालीहरु राष्ट्रिय स्वतन्त्र पार्टीको शक्ति केन्द्र भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘गैरआवासीय नेपालीसंग काम गर्न सकेको भए राज्यले अहिलेसम्म मुहार फेरि सकेको हुन्थ्यो । राज्यले अहिलेसम्म नागरिकता दिन नसक्नु दुःखको कुरा हो ।’ उहाँले गैरआवासीय नेपालीले सिकेको ज्ञान र सिपलाई राज्यको नीति निमार्णमा समेत प्रयोग गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले विदेशमा ८ प्रकारका गैरआवासीय नेपालीहरु बसोबास गर्दै आएको बताउँदै विद्यमान संवैधानिक व्यवस्थाले सबै नेपालीहरुलाई नसमेट्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा डा. शर्माले विदेशमा बस्ने नेपालीहरुको सम्बन्धमा हालसम्म बनेका कानून प्रावधानको बारेमा बिस्तृत विवरण प्रस्तुत गर्नुभएको थियो । शर्माले संविधानमा प्रस्ताव गरिएको नागरिकतामा राजनीतिक तथा प्रशासनिक अधिकारलाई संकुचन गरेर नागरिकतामै विभेद गरिएको बताउनुभयो ।
उहाँले गैरआवासीय नेपालीको अधिकारहरुलाई सुनिश्चित गर्न एनआरएनए विधेयक र एनआरएनए ऐन तत्कालै संसदबाट पारित गर्नुपर्ने बताउनुभयो । उहाँले गैरआवासीय नेपालीहरुलाई मताधिकार प्रदान गर्न आवश्यक कानून निमार्ण गर्न पनि माग गर्नुभएको छ । कार्यक्रममा संघको नागरिकता सम्बन्धी एक समितिका संयोजक दुर्गा आचार्यले एनआरएनएको मागसँग नेपालका सबै राजनीतिक दलहरु सहमत भए पनि समयभित्र नागरिकता विधेयक अघि बढाउन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले नागरिकता ऐनलाई सदनबाट पारित गर्नको राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेतृत्व लिन अनुरोध गर्नुभयो । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता प्रणय राणाले गैरआवासीय नेपाली सम्बन्धी परिचय पत्रनै विभेदपूर्ण रहेको बताउनुभयो । उहाँले गैरआवासीय नेपालीहरुलाई पूर्णअधिकार दिएर आर्थिक तथा समाजिक क्षेत्रमा लाग्न मार्ग प्रशस्त गर्नु पर्ने बताउनुभयो । उहाँले कानूनी जागरणको लागि काम गर्न एनआरएनएलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्