चितवन, भदौं २ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवन जिल्ला समितिले टेलिभिजन प्रस्तोता रवि लामिछानेको समर्थनमा भएको प्रदर्शनमा सहभागी नहुन कार्यकर्तालाई निर्देशन दिएको छ ।
प्रदर्शनमा पार्टी अध्यक्षद्वयकै नाम लिएर आपत्तिजनक नारा लगाएपछि नेकपाले आपत्ति जनाउँदै लोकतन्त्रबिरोधी प्रदर्शनको संज्ञा दिएको छ । रवि लामिछानेको पक्षमा नारावाजी गर्ने क्रममा नेताको नामै किटेर नाराबाजी गरेको भन्दै नेकपा चितवनले आपत्ति जनाएको हो । सोमबार विज्ञप्ति जारी गर्दै नेकपाले अनुसन्धान र न्यायालयको निर्णय समेतलाई प्रभाव पार्ने गरी हुलहुज्जत, अराजक गतिविधि र परिवर्तनविरोधी नारा लागेको बताएको छ ।
नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार इन्द्रजीत र सचिव कृष्णभक्त पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘यसै घटनालाई लिएर हाम्रो पार्टीको नेतृत्वविरुद्ध नामै किटेर गरिएको नाराबाजी तथा प्रतिक्रियावादीहरुलाई बढावा दिने गरी भएको धमिलो पानीमा माछा मार्ने चलखेल नेकपा चितवनलाई स्वीकार्य छैन ।’ नेकपाले लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनमा सहभागी नहुन पार्टी सदस्य, शुभेच्छुकलाई निर्देशन दिएको छ ।
पत्रकार शालिकराम पुडासैनीले साउन २० गते चितवनको एक होटलमा आत्महत्या गरेका थिए । पुडासैनीले आत्महत्याअघि रेकर्ड गरेको भनिएको भिडियोका आधारमा प्रहरीले आत्महत्यामा दुरुत्साहन मुद्धामा अनुसन्धान गर्न टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको छ । लामिछाने पक्राउ परेपछि चितवनमा उनका समर्थकहरुले नियमितजसो प्रदर्शन गरिरहेका छन् । प्रदर्शनको क्रममा पार्टी नेताहरुबिरुद्ध आपत्तिजनक आक्षेप लगाएपछि नेकपाले यस्तो कदम चालेको हो ।
नेकपा चितवनले पत्रकार पुडासैनी मृत्यु प्रकरणको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन पनि माग गरेको छ । ‘निर्दोष नपरुन, दोषी नउम्किउन् भन्ने हाम्रो पनि चाहना हो । अनुसन्धानका क्रममा न्यायिक हिरासतमा लिइएको व्यक्तिको सन्दर्भमा न्यायिक ढंगले निरुपण गर्न दिनुपर्छ,’ नेकपाले भनेको छ ।
प्रतिक्रिया दिनुहोस्