एजेन्सी, १७ फागुन । ग्रीसमा मंगलबार राति दुईवटा रेल एक आपसमा ठोक्किएका छन् । दुर्घटनामा ३२ जनाको मृत्यु भएको छ भने ८५ भन्दा बढी घाइते भएका छन् । मध्य ग्रीसको लारिसा सहर नजिकै एउटा यात्रुवाहक रेल र मालवाहक रेल ठोक्किएको हो । यात्रुवाहक रेलमा ३५० भन्दा बढी यात्रु थिए, जसमध्ये २५० जनालाई बाहिर निकालिएको छ । दुर्घटना कसको गल्तीले भएको हो भन्ने खुल्न सकेको छैन ।
मंगलबार एउटा यात्रुवाहक रेल एथेन्सबाट थेसालोनिकी जाँदै थियो। मालवाहक ट्रेन थेसालोनिकीबाट लारिसा जाँदै थियो। ठक्कर यति जोडदार थियो कि यात्रुवाहक रेलका सुरुका ४ डिब्बा पटरीबाट खसेका थिए । जबकि २ वटा डिब्बा पूर्ण रुपमा ध्वस्त भएका छन् । ठोक्किएपछि रेलमा आगो लागेको थियो । उद्धारका लागि १७ दमकलका गाडीसहित १५५ दमकल घटनास्थलमा पुगेका छन् ।
रेलको अगाडिको भाग पूर्ण रुपमा ध्वस्त भएको छ । थेसलीका गभर्नर कोन्स्टान्टिनोसले दुर्घटनापछि भग्नावशेष चारैतिर फैलिएकाले उद्धार गर्न कठिन भएको बताए । क्षतिग्रस्त डिब्बा र भग्नावशेष उठाउन क्रेन बोलाइएको छ ।
रेलमा ठोक्किएलगत्तै रेलमा भागदौड मच्चिएको रेलबाट उद्धार गरिएका एक यात्रुले बताए । सबैजना यता उता चिच्याउन थाले । अर्को एक यात्रुले भने कि टक्कर एक शक्तिशाली भूकम्प जस्तै महसुस भयो । घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ । यसैबीच, सुरक्षित रूपमा उद्धार गरिएका मानिसहरूलाई बसद्वारा थेसालोनिकी पठाइएको छ। उद्धारकर्मी अहिले पनि घटनास्थलमा छन् ।
प्रतिक्रिया दिनुहोस्