जनता टाइम्स

३ भाद्र २०७६, मंगलवार १०:३०

प्रदेशका योजना : छोटो समयमा उल्लेख्य प्रगति


रवीन्द्र काफ्ले\ पाँचथर, भदौ ३

गत आर्थिक वर्षमा प्रदेश नं १ बाट पाँचथरमा सञ्चालित पूर्वाधार विकासका योजनामा उल्लेख्य प्रगति देखिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयबाट सञ्चालित पूर्वाधार विकासका अधिकांश योजनामा छोटो समयमै उल्लेख्यरूपमा भौतिक र वित्तीय प्रगति देखिएको हो ।

गत आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालयले पाँचथर र ताप्लेजुङमा गरी ७४ पूर्वाधारका योजना सञ्चालन गरेको थियो । यीमध्ये ५० योजना गत आर्थिक वर्षमै पूरा गर्नुपर्ने थिए । गत आर्थिक वर्षमै सम्पन्न गर्नुपर्ने योजनामध्ये दुवै जिल्लामा दुई\दुई योजना मात्रै पूरा गर्न नसकिएको पूर्वाधार विकास कार्यालय पाँचथरका प्रमुख भरतकुमार यादवले बताउनुभयो । निर्माण सम्पन्न भएकामध्ये एउटा योजना मात्रै उपभोक्ता समितिबाट निर्माण गरिएको र बाँकी सबै ठेक्का प्रक्रियाबाट निर्माणकार्य सम्पन्न गरिएका छन् ।

दुई जिल्लाका ७४ योजनामध्ये १५ योजना क्रमागत योजनामा रुपान्तरित भएका छन् भने नौ योजनाको बहुवर्षीय ठेक्कासमेत लागिसकेको कार्यालय प्रमुख यादवले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा उक्त कार्यालयले ६९ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयबाट आर्थिक वर्षको अन्त्यतिर रु चार करोडको अख्तियारी प्राप्त हुँदा कार्यालयको वित्तीय प्रगति पाँच प्रतिशतले कम देखिएको यादवको भनाइ छ ।

सडक तथा सडक पुल निर्माणका ७४ योजनामा रु ५४ करोड ९३ लाख ३२ हजार कूल विनियोजित बजेटमा रु ३७ करोड ३९ लाख ४५ हजार खर्च भएको कार्यालयको तथ्याङ्क छ । उक्त रकममध्ये पाँचथरमा ३८ योजनाका लागि रु २९ करोड १३ लाख ३२ हजार रकम विनियोजन भएकामा रु २१ करोड ५४ लाख ८५ हजार रकम खर्च भएको छ । ताप्लेजुङमा ३६ योजनाका लागि रु २५ करोड ८० लाख रकम विनियोजन भएकामा रु १५ करोड ८४ लाख ६० हजार रकम खर्च भएको कार्यालयले जनाएको छ । (रासस)