जनता टाइम्स

२५ फाल्गुन २०७९, बिहीबार २०:०५

प्रवासी नेपाली मञ्च, अष्ट्रियाले मनायो ११३ औं अन्तराष्ट्रिय महिला दिवस


काठमाडौं, २५ फागुन । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा प्रवासी नेपाली मञ्च अष्ट्रियाले अन्तरक्तिया कार्यक्रम जूम मार्फत भव्यताकासाथ सम्पन्न गरेको छ । मञ्चका अध्यक्षको अध्यक्षता तथा निवर्तमान महिला तथा वालवालिका मन्त्री माननीय साम्सद कमरेड भगवती चौधरीको आतिथ्यतामा मञ्चले सो अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
‘लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने मूल नाराका साथ शुरुभएको कार्यक्रममा माननीय सांंसद सोभिता गौतम, लिली थापा, पूर्वसांसद कोमल वली, प्रवासी नेपाली मञ्च, अन्तराष्ट्रिय कमिटी अध्यक्ष संजय थापा तथा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोललगायत वक्ताहरूले सक्रिय सहभागिता जनाउनु भएको थियो ।

पहिलो वक्ताकारूपमा आउनुभएका प्रवासी नेपाली मञ्च, अन्तराष्ट्रिय कमिटीका अध्यक्ष संजय थापाले आफूले प्राप्तगरेको विषय ‘पुरुषको नजरमा प्रावासी जीवन तथा सामाजिक अभियानमा महिला सहभागिता’ मा बोल्दै महिलालाई आफ्नो संगठनमा समेत सदैव अवसर दिएको तथा राज्यलेसमेत महिलालाई अगाडि बढाउन प्रोत्साहन गर्दै सबै स्थानमा समावेशीताको आधारमा अवसर दिनु पर्ने अवधारणा व्यक्त गर्नुभयो । अध्यक्ष सञ्जय थापाले सन २०३० सम्ममा महिला तथा केटीहरुमा हुने सबैखाले हिँसाहरु उन्मुलन गर्ने लक्ष्य संयुक्त राष्ट्र संघले लिएको बताउँदै लैङ्गिक समानताले समुदायको विकासमा टेवा दिने बताउनुभयो । प्रवासमा आएपछि महिलामाथि हुने हिंसाहरु कम भएको, प्रवासमा रहँदा सुरुमा रोजगारी र आवास, यातायातको समस्या हुने गरेको तथा भाषा मूख्य समस्या भएको , सांस्कृतिक भिन्नताहरुले महिलाहरुलाई बढी समस्यामा पारेको बताउनुभयो । तथापि, यस्ता समस्याको वावजुद पनि नेपाली महिलाहरुले प्रवासमा उन्नति, प्रगति गरिरहेको तर, कती महिला कस्ता काममा छन् उहाँहरुको अवस्था कस्तो छ सत्य तथ्य सहितको विवरण आधिकारिक संस्थासँग नभएको जनाउनुभयो।

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सामाजिक रूपान्तरणमा युवाको भूमिका विषयमा बोल्दै ‘सामाज तब रूपान्तरित हुन्छ जब परिवर्तनले दिगो रुप लिन्छ’ भन्नुभयो। । सामाजिक रुपान्तरण हुन आर्थिक, सामाजिक, राजनीतिक, वातावरणीय सँगै बहुआयामिक परिवर्तन हुन आवश्यक रहेको बताउँदै, समाजको रूपान्तरणमा युवा पुस्ताको अहम भूमिका हुने बताउनुभयो । ‘व्यवस्थामा भएको परिवर्तनले मात्र रूपान्तरण सम्भव हुन्न जबसम्म परिवर्तित परिवर्तन समाजमा कार्यान्वयन हुन्न’ उहाँले भन्नुभयो । पछिल्लो समय नेपाली युवाहरुमा तत्काल नै सामाजिक रुपान्तरण हुनुपर्ने सोचको विकास भएको बताउनुभयो । रुपान्तरण एकैपटक आउन नसक्ने यो क्रमै सँग विकसित हुने उपमेयर डंगोलको भनाई थियो ।

प्रतिनिधिसभाकी सदस्य शोभिता गौतमले ‘सांसद भएको ३ महिनामा संसदीय अभ्यासमा खासै नयाँ र नौलो अनुभव हासिल गर्न सकेकी छैन’ भन्नुभयो र महिलाको लागि राजनीतिक यात्रा कति सहज कति जटिल भन्ने विषयमा प्रकाश पार्दै युवा सांसद गौतमले नेपालमा मात्र होइन विश्वमै महिलाहरुलाई राजनीतिमा नरुचाइएको बताउनुभयो । पछिल्लो समय राजनीतिमा महिलाहरुको सहभागिता बढे पनि निर्णायक तहमा महिलाको पहुँच अझै नभएको बताउनुभयो । प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट गत निर्वाचनमा मात्र ९ जना महिलाहरु निर्वाचित भएर आउनु दुखःदायी भएको बताउँदै वैचारिक संस्थाहरूले महिलालाई प्राथमिकतामा नराखेको उहाँको भनाई थियो । महिलाहरुको सहभागितालाई जनताले पत्याए पनि राजनीतिक दलका नेताहरुले पत्याउन नसकेको भन्दै ‘महिलाहरुलाई निर्णायक तहमा राख्न दलहरु डराईरहेका छन्’ गौतमले भन्नुभयो ‘‘महिलाहरुको सहभागिता राजनीतिमा अर्थपूर्ण हुनुपर्छ । अवसर पाए पुरुष सरह बराबर काम गर्न नेपालका महिला सक्षम छन् ।’

रााष्ट्रियसभा पूर्वसदस्य कोमल वलीले राजनीतिमा महिला एक सिंहावलोकन विषयमा बोल्दै पुरुषहरुले नै विभेद र हिंसा रहित समाज निर्माणमा भूमिका निर्वाह गर्नुपर्ने र त्यसका लागि आफ्नो घरबाटै सुरु गर्नुपर्ने बताउनुभयो । २०७२ सालको संविधानमा महिला र पुरुषबीचको असमानता हटाउन धेरै विषयहरु समेटिए पनि व्यवहारमा लागू भइनसकेको बताउनुभयो । अवसर पाए महिलाहरुले पुरुष सरह काम गर्न सक्छन् भन्ने प्रमाणित भइसकेको चर्चा गर्दै वलीले राजनीतिमा अवसर दिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापाले ‘विगतदेखि वर्तमान –महिला आन्दोलनलाई फर्केर हेर्दा’ भन्ने विषयमा बोल्दै वैदिक दर्शनमा गार्गी जस्ता विदुषीहरूले निभाएको भूमिकाको चर्चा गर्नुभयो। नेपालको राजनीतिक इतिहासमा परिवर्तनका पक्षमा महिलाहरुले ठूलो योगदान दिएको बताउंदै समाज , राजनीतिक परिवर्तन र महिला मुक्ति आन्दोलनमा विगतमा महिला अग्रजहरुले गरेको कामको अभिलेख समेत नभएको चर्चा गर्नुभयो । नेपाली महिलाको इतिहासलाई अभिलेखिकरण गर्नु पर्छ भन्ने उहाँले बताउनुभयो । ‘नेपाली महिलाहरु हरेक क्षेत्रमा सवल र सफल रहेको तथा पछिल्लो संविधानले महिलाका अधिकारलाई मौलिक अधिकारका रुपमा लिपिबद्ध गरेपनि अझै कार्यान्वयनमा चुनौति रहेको छ’ भन्नुभयो । समानताका सन्दर्भमा नेपालको कानुन विश्वका कानुनहरूका तुलनामा उत्कृष्ट रहेपनि कार्यान्वयनमा समस्या रहेकाले अब नीति निर्माण तहमा भएका व्यक्तिले संविधान कार्यान्वयनमा जोड दिनुपर्ने तर्क गर्नुभयो । विभिन्न आँकडा प्रस्तुत गर्दै विगत १० वर्षमा १७ हजार ७९० नेपाली महिला बालात्क्रित हुनु परेको प्रतिवेदन नेपाल प्रहरीले प्रस्तुत गरेको अभिलेखको बारेमा बोल्दै हिंसा, बलात्कार जस्ता महिला हिंसाका घटनामा फैसला कार्यान्वयनमा ठूलो खाडल भएको उहाँले बाताउनुभयो।

अन्त्यमा सबै वक्ताहरूलाई समेट्दै निवर्तमान महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले लैङ्गिक समानताका सवालमा महिलाको पहुँच पुर्याउन संविधानमै उल्लेख भएपनि कार्यान्वयन चरणमा सकस रहेको बताउनुभयो। राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा महिला सहभागिता बढाएर पहुँच स्थापित गर्नुपर्ने बताउँदै नेपालको नयाँ संविधानमा धेरै विषय समावेश भए पनि यसको कार्यान्वयनमा चुनौति देखिएको प्रमुख अतिथि वक्ता चौधरीले बताउनुभयो । निजामती कर्मचारी सेवा, शिक्षा, स्वास्थ्य, वित्तीय क्षेत्रमा महिलाको सहभागिता बढाउन सबै क्षेत्र लाग्नुपर्नेमा जोड दिनुभयो ।

‘‘नीति बनिसकेको छ तर, त्यसलाई कार्यान्वयन तहमा ठूलो समस्या छ । अब त्यसलाई हल गर्न हामीहरु लाग्नुपर्छ’ चौधरीले भन्नुभयो । राज्यले एक पञ्चवर्षीय योजनामा गरिब, विपन्न नागरिकलाई उत्थान गर्न निश्चित प्रतिशत बजेट लगानी गर्नुपर्ने बताउँदै नेपालमा २५ देखि ३० प्रतिशत जनता गरिबीको रेखामुनी रहेकाले त्यहाँ महिला बढी हिंसामा परेको पनि बताउनुभयो । चौधरीले महिलाहरुलाई जबसम्म निर्णायक तहमा पुर्याउन सकिन्न तवसम्म विभेदहरु भइरहने बताउनुभयो । साथै, राजनीतिक तहमा संविधान अनुसार ३३ प्रतिशत महिला पुर्याउन मासबेसबाटै भएपनि महिलाहरु ल्याएर अगाडि बढाउनु पर्ने बताउनुभयो ।

प्रवासी नेपाली मञ्च अष्ट्रियाले ११३ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरेको वेविनारमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्तिहरूको विशेष उपस्थितिको साथमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी का पदाधिकारीहरू लगायत उपसचिव तथा प्रचार प्रकाशन विभाग प्रमुख कमरेड चानक पोखरेल, गैर आवाशीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष बद्रि के सी समेतको कार्यक्रममा उपस्थिति रहेको थियो ।