जनता टाइम्स

२७ फाल्गुन २०७९, शनिबार १४:०९

चीनको नयाँ प्रधानमन्त्री बने ली छ्याङ


एजेन्सी, २७ फागुन । चीनको संसदले शनिबार राष्ट्रपति सी जिनपिङका वफादार ली छ्याङलाई प्रधानमन्त्री बनाएको छ। यो चीनको राजनीतिक प्रणालीमा दोस्रो स्थान हो । नेशनल पिपुल्स कंग्रेसका २ हजार ९३६ सदस्यहरूले छ्याङको पक्षमा मतदान गरे। जबकि उनको विपक्षमा ३ जनाले मतदान गरेका थिए ।

रिपोर्टहरूका अनुसार, ली क्विआङले चीनको शून्य कोविड नीति तयार गरी कार्यान्वयन गरेका थिए, जसको विश्वभर आलोचना भएको थियो । बिजनेश इनसाइडरका अनुसार कोभिड नीति नराम्ररी असफल भएपछि पनि छियाङले प्रधानमन्त्रीको पद प्राप्त गर्नुको एउटै कारण सी जिनपिङसँगको उनको निकट सम्बन्ध हो । केही समयअघिसम्म उनी चीनका शीर्ष ७ नेतामा समेत परेका थिएनन् ।

मतदान गर्नुअघि सी जिनपिङ र ली छ्याङले आपसमा कुराकानी गरेका थिए । चीनको संसदको ग्रेट हलमा मतदान गरेपछि पूर्वप्रधानमन्त्री ली खछ्याङले ली छ्याङलाई कार्यभार हस्तान्तरण गरे । अब उनीमाथि विश्वको दोस्रो ठूलो अर्थतन्त्रलाई ट्रयाकमा ल्याउने जिम्मेवारी हुनेछ । छियाङलाई चीनमा व्यापारमैत्री मानिन्छ।

छियाङले सोमबार पत्रकार सम्मेलन गर्ने छन् जसमा उनले कोरोनाबाट डुबेको चीनको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने योजना बताउनेछन् । यससँगै उनले चीनको जनसङ्ख्यासँग सम्बन्धित चुनौतिहरूबारे पनि आफ्नो धारणा राख्नेछन् ।

शून्य कोविड नीतिका कारण २०२२ ली छ्याङका लागि निकै खराब रह्यो। त्यस अवधिमा लीले सांघाईलाई कोभिडबाट मुक्त गर्न मानिसहरूलाई घरहरूमा कैद हुन बाध्य तुल्याए । सर्वसाधारणदेखि अर्बपति र सेलिब्रेटीहरू घरमा थुनिए । यो कैदलाई औचित्यता दिँदै उनले देशलाई कोरोना मुक्त गर्न आवश्यक रहेको बताएका थिए ।

तर, यो नीतिको नतिजा सारा विश्वले देख्यो जब जनताले सडकमा विरोध प्रदर्शन गर्न थाले । सन् १९८९ मा तियानमेन स्क्वायरपछि चीनमा भएको यो सबैभन्दा ठूलो प्रदर्शन थियो ।