जनता टाइम्स

३ चैत्र २०७९, शुक्रबार १४:५०

पत्रकार महासंघले दियो राष्ट्रपतिलाई बधाई


काठमाडौं, चैत ३ । नेपाल पत्रकार महासङ्घले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा पुगेर महासङ्घको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई सफल कार्यकालको शुभकामना दिएको हो ।

सो अवसरमा महासङ्घका अध्यक्ष विपुल पोख्रेलले यही चैत १७ गते लुम्बिनीमा हुने ‘मिडिया सम्मेलन’मा राष्ट्रपति पौडेललाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गर्नुभयो । भेटमा महासङ्घको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई पत्रकारको अवस्था र नेपाली पत्रकारजगतले भोग्दै आएका समस्याबारे जानकारी गराएको थियो ।

सो क्रममा राष्ट्रपति पौडेलले सही र सत्यतथ्य सूचना प्रवाहमा छाता सङ्गठनका रुपमा महासङ्घले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो । उहाँले सत्यतथ्य सूचना प्रवाहमा महासङ्घले नेतृत्वदायी भूमिका निर्वाह गरोस् भनी कामना गर्नुभयो ।

समाजमा भएका विकृति, विसङ्गतिप्रति पत्रकारजगत सचेत भएर कलम चलाइरहनुपर्नेमा उहाँको जोड थियो । “गतल सूचना प्रवाह हुँदा समस्या पैदा हुन सक्छ, त्यसप्रति पत्रकारजगत सचेत रहेर सही सूचना दिनुपर्छ”, उहाँले भन्नुभयो ।

महासङ्घका अध्यक्ष पोख्रेलले नेपाली पत्रकारको समस्या, अवस्थाका बारेमा राष्ट्रपति पौडेल जानकार भएको बताउनुभयो । भेटमा महासङ्घका महासचिव रोशन पुरीलगायत पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।