जनता टाइम्स

५ भाद्र २०७६, बिहीबार ०८:०५

नेकपाको सचिवालय बैठक बस्दै, एकताका बाँकी काम टुंगो लगाउने तयारी


काठमाडौं, भदौ ५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक केही बेरमा बस्दैछ । पार्टी एकताका बाँकी रहेका थोरै काम टुंगोमा पु¥याउनका लागि अहिले विहान ८ बजेपछि सचिवालय बैठक बोलाइएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा केन्द्रीय आयोग, पोलिटब्युरोलाई पूर्णता लगायत पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुने बताइएको छ । यसअघि हिजो बोलाइएको सचिवालय बैठकमा भने सचिवालय सदस्य माधवकुमार नेपालले दर्ता गराउनुभएको असहमतिपत्रमा कुनै छलफल नभएको पार्टीले जनाएको छ । बैठकमा असहमतिपत्रको बारेमा छलफल हुने बताइएको थियो तर त्यसको चर्चा समेत नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । ‘नेता नेपालले दर्ता गराउनु भएको असहमति पत्रको बारेमा कुनै छलफल भएन,’’ पार्टीका प्रवक्ता श्रेष्ठले भन्नुभयो ।

नेता नेपालले विभिन्न समयमा पार्टीको बैठकले गरेका निर्णयप्रति मङ्गलबार बसेको सचिवालयको बैठकमा सात बुँदे असहमतिपत्र दर्ता गराउनु भएको थियो । उहाँले केही निर्णय सच्याउन माग पनि गर्नुभएको थियो । प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘‘नोट अफ डिसेन्टको विषयमा छलफल हुँदैन । बैठकबाट भएका निर्णयमा उहाँले नोट अफ डिसेन्ट लेख्नुभएको छ । त्यो छलफलको विषय बन्दैन । छलफल नै गर्ने हो भने त्यो विषयलाई प्रस्तावको रूपमा ल्याउनुपर्छ ।’’

आजको बैठकले छ वटा महानगरपालिकाको अध्यक्ष तथा सचिव, प्रवास कमिटीको समायोजन लगायतका विषयमा निर्णय हुन सक्ने बताइएको छ । प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओली आजनै उपचारका लागि सिंगापुर जाने भएकाले सकेसम्म आजै एकतालाई पूर्णता दिने तयारी गरिएको छ ।