जनता टाइम्स

५ चैत्र २०७९, आईतवार १८:५८

पाकिस्तान सरकारलाई इमरान खानको प्रस्ताव, राजनीतिक संकट वार्ताबाट समाधान गरौं !


इस्लामावाद, ५ चैत । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले केन्द्रमा सत्तारुढ गठबन्धन पीडीएम (पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट) लाई चुनावको मितिका वारेमा वार्ताको प्रस्ताव गरेको छ।

यसले गर्दा राजनीतिक संकट अन्त्य हुने सम्भावना छ । यो वर्ष मुलुकमा शान्तिपूर्ण निर्वाचनका लागि दुवै पक्षले वार्ताको बाटो अपनाउन सक्ने सम्भावना छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले बिहीबार देशलाई आर्थिक र राजनीतिक चुनौतिबाट बाहिर निकाल्न सबै दलका ‘राजनीतिक नेतृत्व’ लाई भेट्न निम्तो दिएका छन्।

यसपछि पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का प्रमुख इमरान खानले ट्वीटरमा ‘लोकतन्त्रका लागि जोसुकैसँग पनि वार्ता गर्न तयार रहेको’ सन्देश दिएका छन् ।

यता मुस्लिम लिग नुनका मुख्य संयोजक मरियम नवाजले पीटीआई र इमरान खानबाट ‘राम्रो’ व्यवहारको माग गरेकी छिन्, जसले स्पष्ट पार्छ कि सत्तारूढ गठबन्धनको एक हिस्साले वार्ताबाट धेरै आशा राख्दैन । मुलुकमा विद्यमान राजनीतिक संकटलाई मध्यनजर गर्दै सबै दलबीच वार्ता आवश्यक रहेको विज्ञहरुको भनाइ छ ।

यसबाट कार्यकारी सरकार, सुधार र निर्वाचनमा सहमति जुटाउन सकिन्छ तर अब के हुन्छ भन्ने अहिले नै स्पष्ट छैन ।