जनता टाइम्स

५ भाद्र २०७६, बिहीबार ०८:२७

अछाममा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु


अछाम, भदौ ५

अछाममा बुधबारराति भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीन जना घाइते भएका छन्। रामारोशन गाउँपालिकाबाट जयगढतर्फ आउँदै गरेको से १ ज ९९५ नम्बरको जिप बान्नीगढी जयगढ गाउँपालिका–५ कालिकाको लिडि सुकिबागमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा बान्नीगढी जयगढ गाउँपालिका–३ तिमिल्सेनका ३९ वर्षिय अशोक परियार, वडा नम्बर ४ का ३८ वर्षिया कालुसि आउजी र बैतडी डिलासैन गाउँपालिका–३ का २२ वर्षिय लालबहादुर बोहराको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । परियारको घटनास्थलमै अन्य दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

बुधबार राति ७ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा बान्नीगढ जयगढ गाउँपालिका–४ तिमिल्सेनका तर्कराज तिमिल्सेना, कैलाली घोडाघोडी नगरपालिका–७ कीर्तिपुरका २६ वर्षिय जनजिर चौधरी र कैलाली धनगढी उपमहानगरपालिकाका– २५ वर्षिय घनश्याम चौधरी रहेका छन् । उनीहरूको बयालपाटा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।