जनता टाइम्स

७ चैत्र २०७९, मंगलवार ०८:५०

चीनका राष्ट्रपति सी र पुटिनबीच भेटवार्ता, युक्रेन युद्ध समाधानका लागि चीनको प्रस्तावप्रति पुटिन सकारात्मक


काठमाडौं, ७ चैत्र ।  चिनियाँ राष्ट्रपति सी जिन पिङ र रुसका समकक्षी भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ ।

तीन दिने राजकीय भ्रमणका क्रममा रुस पुग्नुभएका चिनियाँ राष्ट्रपति सीले रुसका राष्ट्रपति पुटिनसँगको पहिलो भेटमा रुससँग आफ्नो देशको नजिकको सम्बन्ध रहेको बताउनुभएको छ । यो भेटमा सीले दुई देश रणनीतिक सहयोगका साझेदार रहेको र सम्बन्ध अझ घनिष्ठ हुनुपर्नेमा जोड दिनुभएको रुसी सरकारी टेलिभिजनले जनाएको छ ।

भेटमा रुसी राष्ट्रपति पुटिनले युक्रेन युद्धको समाधानका लागि चीनको प्रस्तावलाई सम्मानका साथ हेरेको प्रतिक्रिया दिनुभएको छ । राष्ट्रपति सीले आफ्ना रुसी समकक्षी पुटिनलाई आउँदो वर्ष हुने राष्ट्रपतीय चुनावमा रुसी नागरिकको समर्थन प्राप्त हुनेमा आफू विश्वस्त रहेको समेत उल्लेख गर्नुभएको छ ।

रुस–युक्रेन युद्ध सुरु भएयता चीनका राष्ट्र प्रमुखबाट आफ्नो छिमेकी र नजिकको रणनीतिक साझेदार रहेको देश रुसको भ्रमण गरेको यो पहिलो पटक हो । चीनका राष्ट्रपति सीको रुस भ्रमण हेगको अन्तर्राष्ट्रिय फौजदारी अदालतले पुटिनलाई युक्रेनमा युद्ध अपराध गरेको आरोप लगाएको केही दिनपछि भएको हो ।

युक्रेन र बेलायतले पनि चिनियाँ नेतालाई आफ्नो प्रभाव प्रयोग गर्न र मस्कोलाई युद्ध अन्त्य गर्न दबाब दिन आग्रह गरेका छन् । चीनका राष्ट्रपति सीले युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग पनि कुराकानी गर्ने तयारी रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।