जनता टाइम्स

१० चैत्र २०७९, शुक्रबार १३:३६

फ्रान्समा लाखौं मानिस सडकमा उत्रिए, मानिस किन तात्तिएका छन् ?


एजेन्सी, १० चैत । फ्रान्समा निवृत्तिभरणको उमेर बढाउने विषयको विवादले हिंसात्मक प्रदर्शन भइरहेको छ । यसैक्रममा बिहीबार प्रदर्शनकारीले बोर्डो टाउन हलमा आगजनी गरेका छन् ।

आगलागीबाट भवनको ढोका नराम्ररी जलेको छ । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको थियो । हलमा आगो कसले लगायो भन्ने खुल्न नसकेको भए पनि केही बेरमा आगो निभाइएको थियो ।

गृह मन्त्रालयको तथ्यांकअनुसार बिहीबार फ्रान्समा सडकमा झण्डै १० लाख मानिसले प्रदर्शनमा भाग लिएका थिए भने राजधानी पेरिसमा झण्डै १ लाख १९ हजार मानिसले प्रदर्शनमा सहभागिता जनाएका थिए ।

पेरिसमा प्रदर्शनमा उत्रिएका मानिसहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो र देशभरबाट ८० जनालाई पक्राउ गरिएको छ । फ्रान्समा अवकाशको उमेर ६४ वर्ष पुर्‍याउने विधेयक ल्याइएको छ, जसको विरोध भइरहेको छ ।

के भन्छन् आन्दोलनकारी ?
एक प्रदर्शनकारीले समाचार एजेन्सी रोयटर्सलाई भने, ‘म यो सुधारको विरुद्धमा छु।’ यहाँ लोकतन्त्रको कुनै अर्थ छैन । हाम्रो कुनै प्रतिनिधित्व छैन र हामी त्यसबाट दिक्क छौं।

अर्का एक प्रदर्शनकारीले एएफपी समाचार एजेन्सीलाई भने, ‘यस विरोधको माध्यमबाट हामी हाम्रो आवाजलाई सम्वोधन गराउन चाहन्छौं किनभने अरू कुनै पनि तरिकाले यो सुधार फिर्ता लिने छैन।’

आन्दोलनका कारण रेल यातायात र तेल प्रशोधन कारखानाको काम प्रभावित भएको छ भने केही व्यक्ति घाइते भएका छन् । फ्रान्समा जनवरीदेखि नौ पटक आन्दोलन भइसकेको छ। यसैबीच देशका संघसंस्थाले आगामी मंगलबार पुनः प्रदर्शनको घोषणा गरेका छन् ।

अर्कोतर्फ बेलायतका राजा चार्ल्स तृतीय चैत २६ देखि २९ गतेसम्म फ्रान्सको राजकीय भ्रमणमा आउदैछन् र उनको भ्रमणमा बोर्डो टाउन पनि परेको छ
। पेरिसको फोहोर संकलन गर्नेहरूले मार्च ६ मा पेन्सन सुधारको विरुद्धमा सुरु गरेको आफ्नो हडताललाई अर्को सोमबारसम्म जारी राख्ने घोषणा गरेका छन् ।