जनता टाइम्स

५ भाद्र २०७६, बिहीबार १२:०९

गुरु नानकको जन्मजयन्तीमा ‘अन्तर्राष्ट्रिय नगर कीर्तन’


काठमाडौं, भदौ ५

शिख धर्मका प्रवर्तक श्री गुरु नानक देवको ५५०औँ प्रकाशोत्सव (जन्मजयन्ती) का अवसरमा भारतको पटनामा यही भदौ ७ गते ‘अन्तर्राष्ट्रिय नगर कीर्तन’ हुने भएको छ । हालको पाकिस्तानको ननकानामा विसं १५२६ मा जन्मनुभएका गुरुको स्मृतिमा उक्त कार्यक्रमअन्तर्गत धार्मिक सभा गर्न लागिएको श्री गुरु नानक सेवा प्रतिष्ठान शोध केन्द्रले जनाएको छ ।

गत साउनको दोस्रो सातादेखि उक्त कार्यक्रमका लागि भारतस्थित श्री गुरुद्वारा प्रबन्धक कमिटीले तयारी गरेको छ । विश्वका विभिन्न मुलुकमा बसोबास गर्दै आएका सो धर्मावलम्बी तथा सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधिले उक्त सभामा सहभागिता जनाउनेछन् ।

गुरुले एकेश्वरवादको आदर्शलाई अवलम्बन गरी शान्ति, अहिंसाको मार्गलाई स्थापित गरी विभेदको अन्त्य, सामाजिक न्याय, समानताकाबारे शिक्षा दिनुभएको विश्वास छ । गुरुका वाणीबाट निर्माण भएका ग्रन्थ, धर्म रक्षाका लागि प्रयोग गरिएका अस्त्र, शस्त्र, जुत्ता, खराउ, ऐतिहासिक वस्त्रको समेत प्रदर्शन गरिनेछ । गुरुको १०औँ अवतार गोविन्द सिंहको जन्मस्थानका रुपमा पटनालाई लिइन्छ ।

उक्त दिन हुने धार्मिक सम्मेलनमा नेपालबाट पनि सम्बन्धित धर्मावलम्बी सहभागी हुने व्यवस्था मिलाइएको केन्द्रका अध्यक्ष जसपाल सिंहले जानकारी दिनुभयो । नेपालका प्राचीन गुरुद्वारका साथै ग्रन्थको खोजी तथा संरक्षणका लागि केन्द्रले विभिन्न अनुसन्धान गर्दै आएको छ । विश्वमा दुई करोड ७० लाख तथा नेपालमा सात हजार धर्मावलम्बी रहेको केन्द्रले जनाएको छ ।