जनता टाइम्स

६ भाद्र २०७६, शुक्रबार ०८:५९

बालिकालाई बलात्कार गर्नेलाई १६ वर्ष जेल


उदयपुर, भदौ ६

जिल्ला अदालत उदयपुरले छ वर्षीया बालिका बलात्कार गरेको कसुरमा एक जनालाई १६ वर्षको जेल सजायको फैसला सुनाएको छ ।

पीडित बालिकालाई पीडकबाट रु २५ हजार क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतले आदेश दिएको छ । जिल्ला अदालत उदयपुरका न्यायाधीश दीपक खनालको एकल इजालासले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–६ लालपताका ४५ वर्षीय रामबहादुर विकलाई छ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको जिल्ला अदालत उदयपुरका श्रेस्तेदार राजकुमार आचार्यले बताउनुभएको छ ।

आफ्नो छिमेकीका छ वर्षीया बालिकालाई घरमा कोही नभएको मौका छोपेर ललाईफकाइ २०७५ माघ १८ गते बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले रामबहादुरलाई पक्राउ गरी जिल्ला अदालत उदयपुरमा बलात्कारसम्बन्धी मुद्दा दर्ता गराएको थियो ।