जनता टाइम्स

८ भाद्र २०७६, आईतवार ०९:५१

रविसहित तीन जनालाई आज जिल्ला अदालत लगिदै, मुद्दा दायर गर्ने तयारी


चितवन, भदौ ८

सञ्चारकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई आइतबार फेरि अदालतमा पेश गरिँदैछ । अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दोश्रोपटक थप गरेको ५ दिनको समय सकिएपछि तीनै जनालाई सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेश गर्न लागिएको हो ।

विहान १० बजे पछि रविसहित युवराज कंडेल र अस्मिता कार्किलाई प्रहरीले सरकारी वकिलको कार्यालयमा लैजाने छ। आज अन्तिम दिन प्रहरीले अनुसन्धान राय प्रतिवेदनसहितको मिसिल सरकारी वकीलको कार्यालयमा बुझाउने तयारी गरीरहेको स्रोतले जनाएको छ। प्रहरीले मिसिल बुझाएपछि सरकारी वकीलको कार्यालयले अभियोग पत्र अदालतमा पेस गर्नेछ।

त्यसपछि आजै धुनछेक बहस हुने अधिवक्ता गोपिलाल देवकोटाले जानकारी दिए। धुनछेक बहसपछि अदालतले रिहा वा कारागार चलान गर्ने आदेश दिनेछन्। देवकोटाका अनुसार अदालतले आजै वा भोली मात्रै आदेश दिनसक्ने सम्भावना रहेको छ। जाहेरीवालाको तर्फबाट ५ जना अधिवक्ताले बहस गर्ने बताईएको छ। प्रतिवादीका तर्फबाट सुसिल पन्त, सुनिल पोखरेल र चुडामणी सापकोटाले बहस गर्नेछन् भने आरोपी अस्मिता कार्की तर्फबाट पनि छुट्टै ३ जना अधिवक्ताले बहस गर्ने बुझिएको छ।

‘हामी सरकारी वकिललाई बुुझाउँछौँ’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी उपरीक्षक दानबहादुर मल्लले भन्नुभयो, यो विषयमा अरु केही भन्न मिल्दैन ।’ घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षकको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ भने अनुसन्धानमा सहयोग पुर्‍याउन काठमाण्डौबाट प्रहरीको विशेष अनुुसन्धान टोली पनि चितवन आएको छ । काठमाण्डौबाट आएको चारजनाको टोलीले जिल्लाको अनुसन्धान टोलीलाई प्राविधिक लगायतका विषयमा अनुसन्धानका लागि सहयोग गर्ने चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताउनुभयो ।