दोहा, ११ वैशाख । कतारका लागि नेपालका राजदूत डा. नरेश विक्रम ढकालले विदेशमा बस्ने सबैले देशका लागि सोच्ने बेला भएको बताउनुभएको छ । प्रवासी नेपाली मञ्च कतारले नयाँ वर्ष २०८० तथा मुस्लिम धर्मालम्वीको महान पर्व इल उल फित्रको अवसरमा शनिबार आयोजना गरेको सॅास्कृतिक कार्यक्रममा बोल्दै ‘देशप्रतिको माया बोलेर हौइन ब्वहारबाट देखिनु पर्छ’ भन्नुभयो ।
कोरोना महामारीका कारण विश्वब्यापी आर्थिक समस्या उत्पन्न भएकोमा नेपाल पनि त्यसबाट अछुतो नरहेको जानकारी दिदैं उहाँले यसबाट देशलाई पार लगाउन विदेशमा बस्ने नेपालीले आफ्नो खर्च घटाएर आफ्ना परिवारका लागि नेपाल पैसा पठाउनुपर्ने बताउनुभयो । ‘हामीले हाम्रै परिवारलाई पैसा पठाए पनि त्यो नेपाल भित्रिदा देशलाई फाइदा हुन्छ र देशको अर्थतन्त्रलाई सहयोग पुग्छ’ उहाँले भन्नुभयो ‘अब देशको माया भाषणमा होइन ब्यवहारमा देखाउने बेला भएको छ ।’
अब पुनः श्रम स्वीकृति लिन नेपालनै पुग्नुपर्ने वाध्यता हटेको बताउँदै राजदूतावासबाटै यस्तो सेवाको सुरुवात भइसकेको राजदूत डा. ढकालले जानकारी दिनुभयो । त्यस्तै कार्यक्रममा बर्षको ५२ वटा शुक्रबार र शनिबार ५२ वटा कार्यक्रम गर्ने दूतावासको योजना रहेकाले त्यसका लागि सहकार्य गर्न कत्रारस्थित विभिन्न नेपाली संघसंस्थालाई डा. ढकालले आग्रह गर्नुभयो ।
कार्यक्रममा कतारस्थित विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिले पनि बोल्नु भएको थियो । लोकप्रिय गायक बद्री पंगेनीको मुख्य प्रस्तुती रहेको सो सॅास्कृतिक कार्यक्रममा कतारमा बस्ने नेपाली कलाकारले पनि मिठा–मिठा गीत तथा नृत्य प्रस्तुत गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्