जनता टाइम्स

८ भाद्र २०७६, आईतवार १७:०८

विवादका कारण नगरले गरेको ढलान वडाले फुटाउन खोज्यो


भक्तपुर, भदौ ८

मध्यपुरथिमि नगरपालिका र वडा कार्यालयको विवादका कारण वडा नं २ मा गरिएको रू १९ लाखको लगानी खेर जाने स्थितिमा पुगेको छ । पाञ्चायन नगर सुधार समितिले यहाँ आज आयोजना गरेको विकास निर्माण सम्बन्धी छलफलमा स्थानीयवासीले यस्तो आरोप लगाएका हुन् ।

तीन महीना अघि मात्रै नगरपालिकाले बुढाथोकी गाउँको उकालो ढलान गरेकामा एक साता अगाडि मात्रै वडा कार्यालयले भत्काउन आएको उनीहरूको गुनासो थियो । आयोजक संस्थाका अध्यक्ष वेदप्रकाश खरेलले वडा कार्यालय र नगरपालिकाको टसलले यो क्षेत्रको विकासमा असर परेको बताउनुभयो ।

बुढाथोकी टोलको उकालोमा भएको ढलान तीन महीना नबित्दै वडा नं– २ का वडा अध्यक्ष राम थापामगर र वडा नं ३ का वडाध्यक्ष प्रेम कुटुले ढलान फुटाउन खोजेको बताउनुभयो । वडा नं– ३ लाई पानी लैजानु पर्यो भन्दै ढलान फुटाएर काट्न थालेपछि स्थानीयवासीले विरोध गरेका थिए । विरोधका कारण तत्कालका लागि भत्काउने काम रोकिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले नगरसभा नियमित हुन नसक्दा विकासका काम कार्यान्वयनमा आउन नसकेको बताउनुभयो । नगरसभा सम्पन्न गर्न र बजेट ल्याउनका लागि सहजीकरण गरिरहेको बताउँदै उहाँले नगरसभा सम्पन्न नहुँदा थिमिको विकास पछाडि धकेलिएको छ भन्नुभयो ।