जनता टाइम्स

९ भाद्र २०७६, सोमबार ०९:०९

ठगीको आरोप लागेका बैंकका प्रबन्धक स्वाँरको निधन


बाँके, भदौ ९

ठगीको आरोप लागेका सिटिजन्स बैंक नेपालगञ्जका प्रबन्धक विवेक स्वाँरको हृदयघातका कारण आइतबार राति मृत्यु भएको छ। हृदयघात भएर भेरी अस्पताल ल्याइएका स्वाँरको उपचारका क्रममा मृत्यु भएको हो।

सिटिजन्स बैंकमा नक्कली सुन धितो राखेर बैंकलाई करोडौँ ठगी गरेको अभियोग लागेपछि मानसिक तनावमा रहेका स्वाँरको हृदयघातबाट मृत्यु भएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो । सिटिजन्स बैंकमा दिनभर व्यस्त रहेका स्वाँर आइतबार अबेर बेलुका ६ बजे कार्यालयबाट घर आएका थिए। उनी एक्कासि बिरामी भएपछि अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ।

स्वाँरले बैंकिङ कसुरअन्तर्गत मुद्दा भोगिरहेका थिए। गत साउन ८ गते रु २५ लाख धरौटीमा छुटेका स्वाँरको एक महीनापछि भदौ ८ गतेका दिन हृदयघातबाट मृत्यु भएको छ। उनको आज दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। बैंकमा सुन धितो राखेर रकम निकाल्ने चार जना तथा बैंकका प्रबन्धक विवेक स्वाँर, सहायक प्रवन्धक शंकर जोशी, खजाञ्ची ज्योति सुनार, सुन धितो राख्ने ईश्वर सुनार, रमेश सुनार, दीपक विश्वकर्मा, दीपेन्द्र विश्वकर्मासँग अदालतले केही समय अघि जनही २५ लाख धरौटी माग गरेको थियो ।

सिटिजन्स बैंक नेपालगञ्ज शाखाका प्रबन्धक स्वाँरले बैंक ठगी काण्डमा संलग्नले अन्य रकम फिर्ता गरे पनि हाल बैंकलाई तिर्न बाँकी रकम ३ करोड २७ लाख रुपैयाँ तिर्न आनाकानी गरेपछि बैंकमा ठगी काण्ड भएको उजुरी आफैले गरेका थिए । प्रहरीले उनकै उजुरीको आधारमा छानबिन शुरु गरेको थियो। सो घटनामा सहायक प्रवन्धक जोशी, बैंकको मुख्य अभियोगी क्यासियर ज्योति र अन्य सुन धितो राख्न आउने १० जना माथि अनुसन्धान गरिएको थियो।