जनता टाइम्स

९ भाद्र २०७६, सोमबार १२:२९

मान्छे मार्ने बाघलाई लिइयो नियन्त्रणमा


बर्दिया, भदौ ९

मान्छे मार्ने बाघलाई आज विहान नियन्त्रणमा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट गाउँ छिरेर मान्छे मार्ने पाटे बाघलाई ‘डार्टगन’ (लठ्याउने सुइ) मार्फत बेहोस बनाएर नियन्त्रणमा लिइएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बाघलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । सो बाघले आइतबार बिहान घर नजिक रहेको बंगुरलाई चारा दिन गएका बेला बर्दिया निकुञ्ज भित्रबाट आएको पाटे बाघले ठाकुरबाबा नगरपालिका १ भुरिगाउँका ७० वर्षीय पहरिया थारुलाई आक्रमण गरेर मारेको थियो । बाघलाई सोमबार बिहान साढे ८ बजे नियन्त्रणमा लिइएको हो ।

अन्दाजी १५ वर्षको पोथी पाटे बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जका पशु चिकित्सक चित्रबहादुर खडकाको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषका डार्टगन सुटर रामराज चौधरीसहितको टोलीले नियन्त्रणमा लिएको हो । आइतबार बेलुकादेखिको ठूलो मेहनतपछि मात्र बाघ समातिएको खड्काले बताउनुभयो । गएको बिहीबार गेरुवा गाउँपालिका–४ मा एक महिलालाई मार्ने बाघलाई पनि नियन्त्रणमा लिने प्रयास भइरहेको निकुञ्जले जनाएको छ ।