जनता टाइम्स

९ भाद्र २०७६, सोमबार १२:५१

भिम रावलको प्रश्न ‘बाबुरामजी कति मान्छे मारेपछि सन्तुष्ट हुने हो !’


काठमाडौं, भदौ ९

नेपाल कम्युनिष्ट पार्टीका नेता भिम रावलले टिकापुरमा नेताहरुले दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउनु भएको छ । कैलालीको टिकापुरमा आयोजित सभालाई सम्वोधन गर्नुभएका समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको अभिव्यक्ति सामाजिक सदभाव विथोल्ने खालको भएको बताउनु भयो ।

सोमबार सामाजिक सन्जाल ट्वीटरमार्फत नेकपा नेता रावलले लेख्नु भएको छ, ‘भाद्र ७ गते टीकापुर सभामा बाबुराम भट्टराईलगायत काठमाडौंबाट गएकाको कुरा युट्युबमा सुनेँ । उत्तेजनापूर्ण, सामाजिक सदभाव बिथोल्ने, बिभाजनकारी, षडयन्त्रकारी, साम्प्रदायिक, सिद्धान्तहीन र गैरजिम्मेवार । कति मानिस मारिएपछि अशान्ति र भद्रगोल भएपछि बाबुरामजी जस्ता सन्तुष्ट हुने होलान् !’ सो सभामा काठमाडौंबाट गएका बाबुरामलगायत खगेन्द्र संग्रौला, किशोर नेपालहरुले सम्बोधन गर्दै टीकापुर हत्याकाण्डमा रेशम चौधरी निर्दोष रहेको बताउनु भएको थियो ।

भदौ ७ गते टीकापुरमा आयोजित ‘थरूहट–थारूवान राष्ट्रिय सम्मेलन’ मा भट्टराईले राष्ट्रिय जनता पार्टी, नेपालका नेता रेशम चौधरीमाथि लागेको मुद्दालाई राजनीतिक रुपमा समाधान गर्नुपर्ने बताउनु भएको थियो । यस्तै उहाले थारू र खस दुवैले आपसमा नभएर काठमाडौंका शासकसँग लड्नुपर्ने सुझाव मन्तव्यका क्रममा दिनुभएको थियो ।