२०६३ पछि पत्रकारिता गर्ने शैली फेरियो, जिल्लामा टेलिफोन टावर मर्मत गरियो, मोवाईल र इन्टरनेट चल्न थाले । काम गर्न सहज भयो । राजाले शासन सत्ता लिएपछि लोकतन्त्रको लागि भएको लडाईमा नेपाली पत्रकारिताले खेलेको भूमिका मिसन पत्रकारिता थियो । त्यो सफल भयो । दलहरु पुन : संसद भवन र सत्तामा पुगे तर नेपाली पत्रकारिता र पत्रकारको अबस्था फेरिन सकेन । खासगरी मोफसलमा बसेर पत्रकारिता गर्नेको पीडा अहिले पनि उस्तै छ । हामी अरुका दुख र पीडा उठाईरहेका छौ तर आफ्ना पीडा लुकाएर हिडनु बाध्यता छ
कृष्ण केसी
मेरो पत्रकारिताको शुरुवात नेपालमा शसस्त्र द्वन्द्व शुरु हुने समयमै शुरु भएको थियो । श्रीसंगरमाथ र हेभरेष्ट हेराल्ड दैनिकबाट २०५२ सालमा शुरु भएको पत्रकारिताको यात्रा २८ बर्षमा हिड्दै छ, म डो¥याउँदै छु । २०५६ सालबाट लमजुङमा राजधानीबाट विदा लिई आफ्नै जिल्लामा आएर पत्रकारिता गरेको पनि २४ बर्ष वितेछ । धेरै साथिहरु विदेश गए, अरुनै पेशामा लागे तर म भने के देखेर हो, यसैमा लागि रहे, लाग्दै छु । कहिलेसम्म लाग्छु, त्यो थाह छैन । जिवनका उर्जाशिल समय यहि पेशामा वित्यो, न अब यो पेशा छोड्न सकिन्छ, नत अब यो उमेरमा पेशा बदल्न सकिन्छ । पत्रकारिता एउटा भयानक नशा जस्तै रहेछ । जो लागिरहेको छ ।
शुरुवातीका दिनमा फोटोकपी पेपरमा लेख्दै फ्याक्स गरेर राजधानी तिरका दैनिक र टेलिभिजनामा रिपोटिङ धेरै बर्ष गरियो । बषौं काम गर्दा नी पारिश्रमिक पाउनै मुश्किल, अरु त परै जावस एउटा टेलिभिजनमा धेरै बर्ष काम गरियो ठूलो रकम लिन बाँकी थियो, बिरामी भई काठमाण्डौंको एउटा हस्पिटलमा भर्ना हुदा धेरै अनुनय र विनय गरे तर पैसा पाउने त कुरै छोडौं पछि त त्यसका हाकिमको फोन समेत उठेन । मैले कतै उजुरी गरिन, त्यसपछि कहिल्यै मागिन ।
जिल्लामा केही गर्ने उत्साह बोकेर आईरहेका बेला नेकपा माओवादीले शसस्त्र द्वन्द्वका बेला २०५८ मा लमजुङमा टेलिफोनको रिपिटर टावर ध्वस्त पारेपछि जिल्ला सम्पर्क विहिन बन्न पुग्यो, त्यही फ्याक्स पनि पठाउन नमिल्ने भयो , रोजगारी खोसियो । पछि केही ब्यबसायिले कर्डलेश फोन ल्याए त्यसबाट म लगायतका साथीहरु १०÷११ बजे रातीसम्म बसेर फ्याक्स गरियो । जिल्लामा रहेका १÷२ वटा मात्र कर्डलेश टेलिफोन त्यो पनि गाउँ गाउँबाट फोन गर्न आउनेको भिडभाड, त्यही भिड्भाडमा बसेर समाचार पठाउथौ । बाहिर कफ्र्यु लागि सकेको हुन्थ्यो । त्यति वेला इन्टरनेट विनाको पत्रकारिताको पनि मज्जा बेग्लै थियो । सामाजिक संजालका नानाभाती कुरा सुन्नु नपर्ने । पत्रकार र पत्रकारिताप्रति नागरिकको ठूलो विश्वास थियो । तत्कालिन विद्रोही माओवादी र सरकारको दुई तर्फि पेलाईले नागरिकहरु थिलो थिलो थिए, आम नागरिकमा भय र त्रास थियो । गुनासो लिएर उनीहरु पत्रकार समक्ष आउथे, हामी उनीहरुका कुरा संचार माध्यममा ल्याउथ्यौ, आफू अनुकुल नहुदाँ सरकार होस वा विद्रोही पक्ष औला उठाउथे, हामी नागरिकको पक्षमा लेख्थ्यौ, बोल्थ्यौ ।
२०६१ को शुरुवाती तिर तत्कालिन राजा ज्ञानेन्द्रलाई अभिनन्दन गर्न उनैले नियुक्ती गरेका जिल्ला विकास समितिका सभापति हेमजंग गुरुङले म लगायत केही साथीहरुलाई अभिनन्दनका लागि प्रचार–प्रसाद समितिको सदस्यमा राखिदिनु भएछ । हामी राजाको शासनको विरुद्ध निरन्तर आन्दोलनमा थियौ, हाम्रा कलमहरु बन्द गर्न खोजिएका थिए । खासगरी म, दामोदार न्यौपाने(कान्तिपुर) र सुदिप घिमिरेले तत्कालिन जिल्ला विकास समितिका सभापति गुरुङ समक्ष गएर भन्यौ‘ हामी राजाको अभिनन्दन गर्नका लागि बनाईएको प्रचार–प्रसार समितिमा बस्न सक्दैनौ । उहाँले लिखित माग्नु भयो , उहाँकै अगाडी लेखेर दियौं । मैले भने‘ हामी पत्रकार हौं, राजा आउँदा रिपोटिङमा आउछौं । समाचार लेख्छौ । अभिनन्दन समितिमा बस्दैनौ ।’ समितिमा बसेनौ, कार्यक्रममा गयौ र समाचार लेख्यौ ।
हामीले लिखित असहमती जनाएपछि जिल्लामा सुरक्षा समितिको बैठक बसेर निगरानी बढाईएछ । राजाको अभिनन्दन नमान्ने मान्छे त माओवादी हुनुपर्छ भन्ने निश्कर्ष निकालिएछ । त्यसपछिका दिनमा कार्यालय होस वा घरमा धेरै पटक खानतलासी गरियो । तारिख लगाउने र दुख दिने काम भए । तर, हामी गलेनौ, हामी हाम्रो पेशामा सतिसाल जस्तै उभियौ । सारा नागरिकले दुख पाईरहँदा हामीले पाएको दुखलाई ठूलो सोचनौं ।
खासगरी द्वन्द्व कालमा तत्कालिन नेकपा माओवादीले अपहरण गर्दा होस वा राज्यले अनावश्यक दुख दिँदा नागरिक हामीसंग आउथे, हामी समाचार लेख्थ्यौ । नागरिकका कुरा लेख्ने, उनीहरुलाई थप पीडा नहोस भनेर सहजीकरण गर्ने, आफू बाच्ने र आफूले चलाएको मिडिया जोगाउनै धौ–धौ थियो । समाचारमा आएकै कारण कतिपय राज्यबाट पक्राउ परेका र विद्रोही पक्षबाट अपहरणमा नागरिकको ज्यान जोगिएका थिए । यस कार्यमा लमजुङमा हामीलाई तत्कालिन ईन्सेक प्रतिनिधि कृष्णप्रसाद अधिकारीको साथ र सहयोग रहेको थियो ।
२०६३ पछि पत्रकारिता गर्ने शैली फेरियो, जिल्लामा टेलिफोन टावर मर्मत गरियो, मोवाईल र इन्टरनेट चल्न थाले । काम गर्न सहज भयो । राजाले शासन सत्ता लिएपछि लोकतन्त्रको लागि भएको लडाईमा नेपाली पत्रकारिताले खेलेको भूमिका मिसन पत्रकारिता थियो । त्यो सफल भयो । दलहरु पुन : संसद भवन र सत्तामा पुगे तर नेपाली पत्रकारिता र पत्रकारको अबस्था फेरिन सकेन । खासगरी मोफसलमा बसेर पत्रकारिता गर्नेको पीडा अहिले पनि उस्तै छ ।
हामी अरुका दुख र पीडा उठाईरहेका छौ तर आफ्ना पीडा लुकाएर हिडनु बाध्यता छ । राज्यले अनावश्यक ठाउँमा खर्च गरिहेको छ तर पत्रकारिता क्षेत्रको विकास र समृद्धिका लागि ठोस योजना र कार्यक्रम छैन । व्यबस्था बद्लिए पनि नागरिकको जस्तै पत्रकारको पनि अबस्था बद्लिन सकेको छैन । समानुपातिक विज्ञापन नीति नारामै सिमित बन्यो । पूण समानुपातिक विज्ञापन नीति लागु गने हो भने पत्रकातिाका लागि रोई कराई गर्नु पर्दैन । विश्व प्रेस स्वतन्त्रता दिवसले पत्रकार र मिडिया मैत्री अबस्था सिर्जना गरोस् । सबैमा शुभकामना ।













प्रतिक्रिया दिनुहोस्