जनता टाइम्स

२२ बैशाख २०८०, शुक्रबार २२:०४

कोरोनाको विश्वव्यापी स्वास्थ्य सङ्कटकाल सकियो : डब्ल्यूएचओ


काठमाडौं २२ बैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड–१९ (कोरोना भाइरस) विश्वव्यापी स्वास्थ्य सङ्कटकाल समाप्त भएको घोषणा गरेको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिएपछि डब्ल्यूएचओले तीन वर्षअघि स्वास्थ्य सङ्कटकाल घोषणा गरेको थियो । यो घोषणाले महामारी नियन्त्रण गर्ने दिशामा एक महत्त्वपूर्ण कदमको प्रधिनिधित्व गर्ने डब्ल्यूएचओले बताएको छ । यद्यपि धेरै देशले यसअघि नै कोरोना महामारी सकिएको घोषणा गरिसकेका छन् ।

सन् २०२१ को जनवरीमा हरेक हप्ता औसतमा एक लाख जना कोरोना सङ्क्रमितको ज्यान जाने गरेकोमा यो सङ्ख्या अहिले तीन हजार पाँच सय जनामा झरेको डब्ल्यूएचओले जनाएको छ । डब्ल्यूएचओ प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले कोरोना महामारीका विश्वभर कम्तीमा ७० लाख मानिसको ज्यान गएको बताउनुभयो ।