जनता टाइम्स

२८ बैशाख २०८०, बिहीबार ०८:२५

नक्कली भुटानी प्रकरण : सफा एमाले, स्पष्ट एमाले


केही नवोदित पार्टीहरूले पुराना पार्टीलाई यस्ता प्रकरणमा जोड्ने गरेका छन् र आफूलाई ‘दूधले धोएको’जस्तो रुपमा प्रस्तुत हुने गरेका छन् । तर वास्तविकता भने त्यस्तो छैन । उनीहरू पनि ठूला ठूला घुस प्रकरणमा सामेल हुन थालेका छन् । ठाकाराम काण्ड चानचुने काण्ड होइन । ‘मन्त्री बन्न दुइ करोड बुझाउनु पर्ने’ नवोदित पार्टीमा सुरु भएको संस्कृति हो ।

निर्मल भट्टराई

नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाली राजनीतिमा अद्वितीय भूकम्प ल्याएको छ । धमाधम हाइप्रोफाइलहरू पक्राउ पर्न थालेपछि राजनीति तातेको हो । गृहमन्त्रालयमार्फत् सयौं नेपालीलाई नक्कली शरणार्थी बनाएर उच्च तहमा करोडौंको चलखेल गर्ने गिरोह सतहमा आएपछि एकपछि अर्को पूर्व उच्चपदस्थहरू पक्राउ परिरहेका छन् । पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँड पक्राउ परिसकेका छन् भने तत्कालीन माओवादी पूर्वमन्त्री तथा हाल एमाले सचिव(निलम्बित) टोपबहादुर रायमाझी फरारको सूचिमा परेका छन् ।

नेपाली कांग्रेस र माओवादी कोटाबाट गृहमन्त्री बनेका र माओवादी पृष्ठभूमिका नेताहरू यो प्रकरणमा मुछिनु केवल संयोगमात्र होइन । यो उनीहरूको चरित्रसँग गाँसिएको कुरा हो । कांग्रेसी वृतमा ‘कोही पनि जोगी हुन राजनीतिमा लाग्दैन’ भन्ने वाक्यांश हरेक नेताको मुखमै हुन्छ । त्यसैले सत्तामा पुगेपछि उनीहरू सामान्यतया कमाउ धन्दामा हुन्छन् । कांग्रेसी हाइप्रोफाइल आरजुदेखि निर्वाचित वडा सदस्यसम्मको दाउ इजी मनी खोज्नेमा हुन्छ ।

माओवादी सुप्रिमो प्रचण्डले शान्ति प्रक्रियामा आएलगत्तै एउटा अन्तर्वार्तामा भनेका थिए-‘शक्ति कि बन्दुकमा हुँदोरहेछ, कि शक्ति पैसामा हुँदोरहेछ । त्यसै वाक्यांशलाई मूलमन्त्र मानेर बन्दुक बुझाउन नपाउँदै माओवादी र्‍याङ्क एन्ड फाइल पैसाको शक्ति खोज्न थाल्यो । पार्टी सत्तामा हुँदा आफ्नो काम मिलाउन आउने व्यक्तिहरूसँग ‘यसबाट मलाई कति आउँछ?’जस्ता बार्गेनिङ माओवादी नेता-कार्यकर्ताहरू प्रष्ट र खुल्ला रूपमा गर्थे । तलदेखि माथिसम्म सेटिङ चल्थ्यो, चलिरहेको छ ।

यो प्रकरणमा साविक नेकपा विभाजन हुँदा एमालेतर्फ रहेका पूर्व माओवादी नेताहरू रामबहादुर थापा ‘बादल’ र टोपबहादुर रायमाझी र उनका सहयोगीहरू मुछिएका छन् । पक्राउ परेका विचौलियासँगको उनीहरूको पुरानो सम्बन्धलाई मुख्य आधार बनाइएको बताइएको छ ।

विचौलियाको कुनै पार्टी नहुने हुनाले उनीहरूले गृहमन्त्री जुन पार्टीको आए पनि राम्रो सम्बन्ध बनाएको देखिन्छ । तर नककली शरणार्थी खोज्ने र उनीहरूबाट पैसा असुल्ने र शक्ति केन्द्रमा पुर्‍याउने मुख्य विचौलिया केशव दुलाल र सानु भण्डारीको राजनीतिक नाता नेपाली कांग्रेससँग जोडिनुले यो प्रकरण पनि बढी नेपाली कांग्रेससँगै जोडिएर आएको देखिन्छ । माओवादी नेता गृहमा आएपछि विचौलियाहरूले पहुँच स्थापित गर्न माओवादी च्यानल प्रयोग गरेको देखिन्छ । देउवा पत्नी आरजु राणा, काग्रेस नेतृ मञ्जु खाँडको प्रयोगमा अकुत रकमको प्रयोग भएका समाचार बाहिरिएकै छन् ।

गर्व नै गर्नुपर्दछ, झापा विद्रोह हँदै आएको तत्कालिन माले र मार्क्सवादी एकतापश्चात् बनेको एमालेका कोही नेता यो प्रकरणमा मुछिएका छैनन् । एमालेका नेता-कार्यकर्ताको सेटिङमा काम गर्ने र घुसमा बाँच्ने जीवन पध्दति होइन । माओवादी नेता हुँदा मुछिएका र हाल ए‍मालेको सांसद र पार्टी सचिव टोपबहादुर रायमाझीलाई एमालेले सचिव पदबाट निलम्बन गरी फरार भएर होइन, देशको ऐन कानुनअनुसार नक्कली भुटानी प्रकरणको अनुसन्धानलाई सघाउन स्पष्ट निर्देशन दिएको छ । साथै एमालेले कसैको दवावमा नपरी दोषीलाई कार्वाही गर्न सरकारलाई आग्रह गरेको छ । दोषी नछुटुन् र यो घटानामा सरकारले निष्पक्ष छानबिन गरे अनुसन्धानमा सघाउन आफू तयार रहेको एमालेले प्रष्ट पारिसकेको छ ।

एमाले पटक-पटक सत्तामा गए पनि राज्यको ढुकुटी दोहन गर्ने र भ्रष्टाचार गर्ने कुकर्मबाट  एमाले पङ्क्ति बचेको छ । आम्दानीको श्रोत नखुलेका तर आलिसान महल, आरामदायी गाडी र भड्किलो जीवन शैली एमालेभित्र पनि फाट्टफुट्ट देखिन थालेको छ । इमान्दारी, सावधानी र कडाइका साथ यस्तो प्रवृत्तिको घाँटी बेलैमा निमोठ्नु पर्छ । एमालेलाई जनताको सेवक पार्टी बनाइ राख्न एमालेले पनि आफूलाई निर्मलीकरण नगरी सुखै छैन । यो घटनाले एमालेका नेता-कार्यकर्तालाई आफ्नो इमान्दारीप्रति झन गौरवान्वित हुन प्रेरित गरेको छ भने राजनीतिको आडमा अकुत सम्पत्ति कमाउन लाइनमा बसेकाहरूलाई नराम्ररी झस्काएको छ । श्रम नगरी राजनीतिको आडमा आलिसान महलमा बस्ने र प्राडो-पजेरोमा हुँइकिनेहरूको नींद हराम गरिदिएको छ ।

केही नवोदित पार्टीहरूले पुराना पार्टीलाई यस्ता प्रकरणमा जोड्ने गरेका छन् र आफूलाई ‘दूधले धोएको’जस्तो रुपमा प्रस्तुत हुने गरेका छन् । तर वास्तविकता भने त्यस्तो छैन । उनीहरू पनि ठूला ठूला घुस प्रकरणमा सामेल हुन थालेका छन् । ठाकाराम काण्ड चानचुने काण्ड होइन । ‘मन्त्री बन्न दुइ करोड बुझाउनु पर्ने’ नवोदित पार्टीमा सुरु भएको संस्कृति हो ।

पुराना जति बेइमान र नयाँ जति इमान्दार भन्ने तर्क बेतुकको तर्क हो । चील आयो भनेर चल्ला चोर्ने तरिका मात्र हो । एमालेको इमान्दारीलाई अरूको बेइमानीले छोप्ने प्रपञ्च हो ।