जनता टाइम्स

१० भाद्र २०७६, मंगलवार २१:१०

नागरिकता विधेयकमा नयाँ व्यवस्था : स्वघोषणा झुटो ठहरिएमा पितालाई पनि कैद


काठमाडौं, भदौ १०

नागरिकता विधेयकले आमाको नामबाट नागरिकता लिँदा बाबुको पहिचान अनिवार्य गरेको छ । बाबुको पहिचान हुन नसकेको अवस्थामा आमाले वा आमा मरिसकेको अवस्थामा सम्बन्धित व्यक्तिले त्यसको स्वघोषणा गर्नुपर्छ । स्वघोषणा झुटो ठहरिएमा ६ महिनादेखि एक वर्षसम्म कैद र २५ हजारदेखि एक लाखसम्म जरिवाना हुने प्रावधान राख्न सिफारिस गरेको हो ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधनसम्बन्धी उपसमितिले सो व्यवस्था गरेर समितिमा प्रतिवेदन बुझाएको छ । ‘आमाले गरेको स्वघोषणा बदनियतपूर्ण नभई आफूलाई प्राप्त जानकारीका आधारमा गरेको देखिए उनी सजायको भागिदार हुने छैनन्’, उपसमितिको प्रतिवेदनमा भनिएको छ । आमाले आफ्नो बच्चाको बाबु चिन्दाचिन्दै पहिचान हुन नसकेको भनेर आफ्नो नामबाट मात्र नागरिकता दिलाएको प्रमाणित भए सजाय पाउने छिन् । तर, साँच्चीकै पहिचान गर्न नसकेको हो भने सजाय पाउने छैनन् । यसरी आमाले गरेको स्वघोषणा साँचो रहेछ र त्यसपछि बाबुको पहिचान खुल्न आयो भने बाबुलाई पनि ६ देखि एक वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवानाको भागिदार बनाउने सहमति उपसमितिले जुटाएको छ ।

यसैगरी उपसमितिमा स्वदेशी व्यक्तिले झुठो विवरणका आधारमा नागरिकता लिए वा झुठो विवरण दिएर नागरिकता सच्चाए तीन वर्ष कैद र ५० हजार देखि दुई लाखसम्म जरिवानाको व्यवस्था गर्न सहमति जुटेको छ । त्यस्तै कसैले झुठो विवरणका आधारमा नागरिकता दिन सिफारिस गर्नेलाई ६ महिनादेखि एक वर्षको कैद र २५ हजारदेखि एकलाख सम्म जरिवाना गर्ने सक्ने व्यवस्था राखिएको छ ।

त्यस्तै दुई वा सो भन्दा बढी नेपाली नागरिकता लिएमा ५ वर्षसम्म कैद र तीन लाखसम्म जरिवाना गर्न सकिने भएको छ । उपसमितिले विदेशी विवाहित महिलाले पाउने अंगीकृत नागरिकता, टोलीबाट ठाउँठाउँमा गरिने नागरिकता वितरणजस्ता विषयमा भने सहमति जुटाउन सकेन । सो विषय अब मुल समितिमा नै सहमति खोजिने भएको छ ।