जनता टाइम्स

११ भाद्र २०७६, बुधबार ०८:२०

उफ ! कोटेश्वरको जाम, ट्राफिक नै हैरान


काठमाडौँ, भदौ ११

चक्रपथको पूर्वी भागमा पर्ने काठमाडौँ–भक्तपुरको मुख्य प्रवेश विन्दु कोटेश्वर नाकामा अत्यास लाग्ने गरी सवारी जाम बढेपछि त्यो जामलाई हटाउन प्रहरीलाई ठूलै सकस भएको छ । त्यहाँको ट्राफिक व्यवस्थापनका लागि हरेक महिना छलफल हुन्छ, आकर्षक योजना बन्छन् तर कार्यान्वयन पक्ष शून्यजस्तै छ । यो जामले सबैलाई हैरान पारेको छ ।

अरनिको राजमार्ग भएर राजधानी आउने र जाने सवारी साधनहरू कतिपय अवस्थामा आधा घन्टादेखि दुई घन्टासम्म जाममा पर्ने गरेको गुनासो सर्वसाधारणको छ । त्यति मात्र होइन, कार्यालय आउने र जाने समयमा पनि दैनिक उत्तिकै सास्ती खप्नु परेको भनाइ यात्रु रामेश्वर श्रेष्ठको छ । चक्रपथ रुटमा चल्ने गाडी आउने र जाने दुवै सडक किनारामा त्यहीँ रोकेर ओराल्ने र चढाउने व्यवस्था छ तर त्यसमा समस्या बीसको उन्नाइस भएको छैन ।

यो समस्याको समाधानकै लागि यसअघि महानगरीय ट्राफिक प्रहरी महाशाखाले जाम घटाउन रोक्न नपाउने तर चढाउने र ओराल्ने (पिक एन्ड ड्रप) व्यवस्था लागू गरेको थियो तर केही दिनयता ‘पिक एन्ड ड्रप’बाट पनि जाम घटाउन नसकिएको भनाइ ट्राफिक प्रहरीको छ । कोटेश्वरचोकमा स्मार्ट ट्राफिक बत्तीका साथै आकासेपुलको अभाव छ । कार्यालय समयमा सर्वसाधारणले बाटो काट्ने र सवारी साधनहरू पनि चारैतर्फबाट एकैसाथ पुग्ने भएकाले लामो जाम हुने गरेको भनाइ त्यहाँ कार्यरत ट्राफिक प्रहरीको छ ।

बजेट छ तर कार्यान्वयन हुँदैन

काठमाडौंँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले त्यहाँको ट्राफिक जाम हटाउने विषय छलफलकै चरणमा रहेको बताउनुभयो । कोटेश्वर नाकाको जाम घटाउन सडक विभाग, यातायात विभाग र काठमाडौँ महानगरपालिकाले विभिन्न कार्ययोजना तथा बजेट छुट्याउने गरेका छन् तर त्यसको कार्यान्वयन भने शून्यजस्तै छ ।

चुस्त, छिटो, छरितो तथा प्रविधिमैत्री ट्राफिक व्यवस्थापनका लागि ती निकायहरूबीच प्रत्येक महिनाको एक दिन छलफल हुने गरेको छ । महानगरपालिकाले आकासेपुल, स्मार्ट ट्राफिक बत्ती, सडक विभागले सडक मार्किङ (रेखाङ्कन) र यातायात कार्यालयले प्रदूषण नियन्त्रण तथा पुराना सवारी साधनहरू विस्थापित गर्न आकर्षक कार्ययोजना सार्वजनिक गरे पनि कार्यान्वयन हुन नसक्दा उक्त समस्या देखिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्त पन्त कोटेश्वर नाकामा हुने सवारी जाम घटाउन परम्परागत (म्यानुअल ट्राफिक प्रणाली) मात्रै अहिलेको विकल्प भएको बताउनुहुन्छ । यो विकल्प जति प्रभावकारी अवलम्बन गरे पनि पानी परेको बेला र कार्यालय समयमा सडक जाम नभई सवारी साधनहरूको बाक्लो लाम हुने गरेको उहाँ स्वीकार्नुहुन्छ ।

उहाँले भन्नुभयो, “ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोग हुन सकेको छैन, २४ चौबीसै घन्टा चोकमा बसेर ट्राफिक प्रहरी जवानले हातको इशारा र सिट्टी फुकेर सवारी व्यवस्थापन गर्नुपर्ने हुन्छ, यस्तो अवस्थामा चुस्त र छिटोछरितो सेवा प्रवाह गर्न समस्या नै छ ।”

जनशक्तिको पनि अभाव

कोटेश्वरको जाम काठमाडौँ उपत्यकाकै जामको चरम् रूप हो । जनशक्ति अभावले पनि उपत्यकामा ट्राफिक जामको चर्को समस्या छ । प्रहरीका अनुसार ट्राफिक प्रहरी जनशक्ति अभाव छ । सरुवा तथा पदस्थापन भएकाहरू उपत्यका छोडेर बाहिर जाने र बाहिरका ट्राफिक प्रहरी आउन नचाहने भएकाले जनशक्तिको अभाव खट्किएको हो ।

महाशाखाका प्रहरी नायब उपरीक्षक प्रभु ढकाल ट्राफिक प्रहरीका लागि सरकारले आकर्षक भत्ताको व्यवस्था गरे पनि सजिलो र सुविधायुक्त स्थानमा सरुवा जान चाहनेहरू धेरै रहेको बताउनुहुन्छ । प्रायः उपत्यकामा बस्न इच्छुक धेरै कम छन् । उहाँले भन्नुभयो, “अहोरात्र खटिनुपर्ने बाध्यता त छँदैछ, धुवाँ, धुलो र चालकको गालीबाट आजित भएकाहरू उपत्यका छोड्नै चाहन्छन् तर बाहिरका आउन चाहँदैनन्, कम्तीमा दुई हजार ट्राफिक प्रहरी जनशक्ति चाहिन्छ ।”

हाल महाशाखामा एक हजार दरबन्दी रहेको छ भने करिब एक हजार चार सय जनशक्ति कार्यरत छन् । सोमध्ये सबै जनशक्ति सडकमा खटिँदैन । उहाँका अनुसार स्मार्ट तथा प्रविधिमैत्री ट्राफिक सेवा सञ्चालन भएको भए यो जनशक्ति नै पर्याप्त हुन्थ्यो ।

करिडोर र अन्डरपासले केही सहज

महानगरीय ट्राफिक प्रहरी महाशाखाले रिङरोडभित्रका विभिन्न नदी किनारको करिडोर सडक र अन्डरपास सडकहरू खुला गरेसँगै जामको समस्या केही हटे पनि ट्राफिक प्रहरीको जनशक्ति बाँडिएकाले समस्या देखिएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रमुख धर्मेन्द्र रावल ट्राफिक प्रहरी छ कि छैन भनेर ट्राफिक नियमको पालना गर्ने चालकका कारण जामको समस्या हुने गरेको बताउनुहुन्छ । ट्राफिक छ भने नियम मान्ने र छैन भने आफूखुसी गर्ने चालकका कारण सवारी जाम बढेको भनाइ उहाँको छ ।

“करिडोर, अन्डरपास, सडक चोक, किनारा, पुल तथा नाकाहरूमा समेत प्रहरी खटाउनुपर्ने भएकाले मुख्य सडकमा ट्राफिक प्रहरीको जनशक्ति घटेको छ,” उहाँले भन्नुभयो, “चालक अनुशासित भए समस्या नै हुँदैन ।” कतिपय सडकमा मार्किङको अभावसँगै खाल्डाहरू यथावत् भएकाले जाम बढ्ने गरेको छ ।

लाममा बसेका सवारी आफ्नै गतिमा सञ्चालन हुन्छन् तर लेन अनुशासन नै पालना नगरी सवारी चलाउनेलाई कारबाही गर्न ट्राफिक प्रहरी आवश्यक पर्ने गरेको उहाँले बताउनुभयो । विभिन्न चोकमा जडान गरिएका ट्राफिक लाइट बिग्रिनुका साथै सडक मार्क, जेब्रा क्रसिङ मेटिएका छन् । करिडोर तथा मुख्य सडक फराकिलो बनाएसँगै पुलहरू पनि साँघुरो बनेकाले रिङरोडको भित्र सडकमा सवारी जाम तथा सवारी लाम बढेको छ । (गोरखापत्र)