जनता टाइम्स

२९ बैशाख २०८०, शुक्रबार १८:३९

अल–कादिर ट्रस्ट मुद्दामा इमरान खानलाई राहत, उच्च अदालतले दियो २ हप्ताको जमानत


इस्लामावाद, २८ वैशाख । भ्रष्टाचारको आरोपमा पक्राउ परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले तोशाखाना मुद्दामा राहत पाएका छन् । इस्लामावाद उच्च अदालतले अभियोगमा रोक लगाएको छ।

अर्कोतर्फ, इमरानलाई अल(कादिर ट्रस्ट मुद्दामा पनि राहत मिलेको छ। इस्लामावाद उच्च अदालतले इमरान खानलाई २ हप्ताको लागि जमानत दिएको छ ।

यसअघि उच्च अदालतमा सुनुवाइ सुरु हुनेबित्तिकै हंगामा भएको थियो । सुनुवाइका क्रममा इमरानका समर्थक वकिलहरूले इमरानको पक्षमा नारा लगाएर अदालतमा हंगामा मच्चाएका थिए जसका कारण न्यायाधीश कोठाबाट बाहिरिएका थिए ।

बिहीबार सर्वोच्च अदालतले उनको पक्राउलाई गैरकानुनी भन्दै तत्काल रिहा गर्न आदेश दिएको थियो। यससँगै उनलाई उच्च अदालतमा हाजिर गराउन आदेश दिइएको थियो ।

बिहीबार साँझ, इमरानले आफ्ना समर्थकहरूलाई हिरासतमा लाठीले पिटिएको दाबी गर्दै शान्तिको लागि अपील गरेका थिए । अपराधीसँग पनि यस्तो व्यवहार मान्य नहुने उनले बताए ।

पूर्वप्रधानमन्त्रीले आफूविरुद्ध १४५ मुद्दा दर्ता भएको र आफूलाई आतङ्ककारीलाई जस्तै गरी पक्राउ गरिएको बताए ।

यसै क्रममा मुख्य न्यायाधीश उमर अता बन्दियाल, न्यायमूर्ति मोहम्मद अली मजहर र न्यायाधीश अतर मिनाल्लाहको तीन सदस्यीय इजलासले मंगलबार इस्लामाबाद उच्च अदालत परिसरबाट उनको गिरफ्तारीको बिरूद्ध दायर याचिकाको सुनुवाई गर्दै उनीमाथि यस्तो कारवाही अवैध भएको जनाएको थियो ।

पाकिस्तान तहरीक(ए(इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खानलाई मंगलबार इस्लामावाद उच्च अदालतबाट अर्धसैनिक बलले गिरफ्तार गरेको थियो ।

इजलासले नेशनल एकाउन्टेबिलिटी ब्यूरो (एनएबी) लाईे इमरानलाई स्थानीय समय अनुसार अपराह्न ४ः३० बजेसम्म पेश गर्न निर्देशन दिएको थियो । खानलाई कडा सुरक्षामा अदालत लगिएको थियो ।

बेन्चले अल–कादिर ट्रस्ट मुद्दामा उनको गिरफ्तारीको बिरूद्ध पाकिस्तान तहरीक–ए–इन्साफका अध्यक्षको निवेदनको सुनुवाइ गर्दै, उनलाई पाकिस्तानी रेंजर्सले गिरफ्तार गरेको तरिकामा पनि गहिरो असन्तुष्टि व्यक्त गर्‍यो र अधिकारीहरूलाई अदालत समक्ष पेश गर्न आदेश दिएको थियो । ्

इमरान अदालतमा प्रवेश गर्नेबित्तिकै अदालतको ढोका बन्द गरी बेन्चले सुनुवाइ सुरु गरेको थियो । प्रधानन्यायाधीश बन्दियालले इमरानलाई भने, ‘तपाईंलाई देखेर खुसी लाग्यो । तपाईको गिरफ्तारी गैरकानुनी छ भन्ने हाम्रो विश्वास छ। इस्लामावाद हाईकोर्टले शुक्रबार यस विषयमा सुनुवाइ गर्नेछ र जुन निर्णय आउँछ, तपाईंले स्वीकार गर्नुपर्नेछ।’

पाकिस्तानको सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल(एन) इमरानको रिहाइलाई लिएर प्रधानन्यायाधीशमाथि आक्रोशित भएको छ। पार्टीका मुख्य संयोजक मरियम नवाजले सर्वोच्च अदालतले खजाना लुट्नेलाई छोडिदिएको बताइन् । एक अपराधी रिहा भएका छन् । सर्वोच्चले यस्तालाई बचाउँछ भने देश कसले बचाउने ?

उनले प्रधानन्यायाधीश बन्दियालले पदबाट राजीनामा दिएर इमरान खानको पार्टी पीटीआईमा सामेल हुन सुझाव दिइन् । मरियमले इमरान खानले भ्रष्टाचार मुद्दामा जवाफ दिनुपर्ने बताइन् । जब पुलिस वारेन्ट लिएर लाहोर गएको थियो, लाहोरमा पुलिसकर्मीहरूको टाउको फुटाइयो । त्यतिबेला इमरानलाई कारबाही भएको भए आज देश जलिरहेको हुने थिएन ।