यी मनुवा रूबाट पार्टीको राजनीतिक–बैचारिक कामको गतिको अपेक्षा त होइन, प्राप्त गतिको पनि अधोगतिको यात्रा आरम्भ भएको हुनेछ र एमाले क्रमिकरूपमा दलाल पुँजीवादी पार्टीमा रूपान्तरित हुने अभ्यासतर्फ अग्रसर हुनेछ । यो पात्र विशेष रोग प्रवृत्तिमा आउनुपूर्व नै यसलाई रोक्न सक्नुुपर्छ र पार्टीलाई साँचो अर्थमा श्रमजीवी सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने पार्टीको रूपमा पुरानो हैसियतका साथ दुई कदम पछि फर्केर एक कदम अघि बढ्न जरूरी छ
सूर्य बस्याल
दुई महिना अवधिभर देशदौडाहामा निक्लिएको नेकपा (एमाले) ले आफ्नो बृहत्तर महत्त्वको मिसन ग्रासरुट अभियान भरखरै अघिमात्र सम्पन्न गरेको छ । एमाले जीवनसँग सम्बद्ध सम्पूर्ण नेतृत्व परिचालित यो अभियानलाई पार्टी अध्यक्षले कमरेड केपी शर्मा ओलीले फागुन ५ गते देशव्यापी रूपमा एकसाथ आरम्भ गर्नुभएको थियो, वैशाख १० कम्युनिष्ट पार्टी स्थापनाको ७५ औँ स्थापना दिवसको अवसर पारेर ऐतिहासिक कामको उद्घोष गर्दै सम्पन्न भएको छ ।
देशबाहिर भारतलगायत तमाम मुलुकमा बसोबासर्त श्रमिक प्रवासी नेपाली नागरिकका आँखाले हेर्दा सम्पन्न यो अभियानले नेपाली कम्युनिष्ट आन्दोलनलाई यसको राजनीतिक–बैचारिक जग निर्माण र तदानुकूल संगठनात्मक काम व्यवस्थापनको क्षेत्रमा पराकम्पन सिर्जना गरेको छ भन्ने निष्कर्षले प्रेरित गरेको अनुभूति हुन्छ ।
प्रस्टोक्ति
चुनावताका मात्र भेटिने उपल्लो तहको नेतृत्वलाई यसपटक मिसनअन्तर्गत यत्रतत्र भेट्दा आधारभूत तहको मतदाताले थुप्रै कुरा उठायो । कैयौं विषयगत गुनासा उठायो, नेताको जीवनशैली र नेतृत्वको कार्यशैलीप्रति आक्रोश पोख्यो । नेतृत्व स्वयंमा सच्चिए, सामाजिक र राजनीतिक मतिका हिसावले सुध्रिए पोखिएका यी गुनासा र आक्रोशकै बीचमा पार्टी संगठनात्मक कामलाई जुरुक्कसँगले बोक्ने संकल्प पनि लियो ।
प्रतिकूल भूराजनीतिको एउटा विशिष्ट बेलामा उघ्रिएको भीमकाय शक्ति एमालेमाथि अभियानको क्रममा वर्तमानको केही शाब्दिक प्रहार पनि भएको छ, आरोप–प्रत्यारोप तुनिएको छ, लाञ्छना बुनिएको छ र व्यवहारिक जीवनमा प्रश्न उठेको छ । बिरामीको उपचारपूर्व बिरामको कारण के हो ? पत्ता लगाउने प्रयत्नस्वरुप समग्र अवस्थाको जाँचबुझ भयो । यो आफैंमा अनिवार्य थियो, जो सामान्य ढंगले सम्पन्न भएको छ ।
विकास र निर्माणको मृगतृष्णा बोकेर हिडेको एमालेबारे अहिले बजारमा धेरै थरी अनुमान लाग्ने गरेको छ । आमरूपमा जनताले भने अझ धेरै अपेक्षा गरेको कुरा उठाएको यत्रतत्र सुनिन्छ । पछिल्ला केही दिनयता एमाले अलिक सुस्त र मौन रहँदा समाजमा उब्जेका केही सामाजिक मुद्दामाथि अराजनीतिक व्यक्तिहरू हावी हुँदै शक्तिमा परिणत हुन थालेको कुरा राजनीतिक चरित्र अभावको युवामा भुसको आगो झैँ फैलिएको सुनिन्छ ।
एमालेविरोधी शक्तिहरू परस्पर अन्यौलकै गतिमा तँछाडमछाड मौलाइरहेको र सल्बलाइरहेको अनुभूति आर्जन गर्न सकिन्छ । यस्ता कतिपय विषयसँग नजिकै रहेका प्रश्नहरू पार्टीको आन्तरिक जीवन व्यवस्थापनमा ग्रासरूट कार्यक्रममार्फत पार्टीका तहगत थुप्रै नेता र कार्यकर्ताले यथेष्टमात्रामा उठाइसकेका छन् । भारत प्रवासको पार्टी काम यसबारे मूलतः मौन नै रह्यो । देशभित्र भने यसको विषयगत अध्ययन, आँकलन र सुक्ष्म विश्लेषण वडादेखि केन्द्रीय समिति बैठकसम्म भइसकेको छ । देशबाहिर अर्थात् प्रवासको मततर्फ पार्टीको ध्यान पुगेको विषय पनि सँगसँगै आइसकेको छ ।
प्रवास–घरबास आन्तरिक पक्ष
अब यतिबेला एमालेको आन्तरिक शुद्धिकरण र सुदृढीकरणको जगमा पार्टी खहरे भएर उर्लने प्रश्न हाम्रो अगाडि छ । विगतका कतिपय समस्यालाई नजिकैबाट चिन्ने र निर्मम ढंगले यसको चिरफाड गर्दै अघि बढ्ने कुरामा हाम्रो कति विवेक पुग्यो वा पुगेन ? आत्मसमिक्षा व्यवस्थापन र परिणाम निर्माणमा ध्यान दिन जरुरी छ ।
पार्टी बारम्बार सरकारको नेतृत्वमा पुगे पनि श्रद्धेय नेता मनमोहन अधिकारी र मदनकुमारी भण्डारीको नेतृत्वभन्दा पछि क्रमिक रूपले अध्यक्ष कमरेड केपी शर्मा ओलीको नेतृत्व सर्वाधिक चर्चामा रह्यो । यद्यपि, यसमार्फत पुग्दो ढंगले जनमत बटुल्न सकिएन । हामी कहाँ रुमलियौं, कहाँ हरायौं– नेकपा (एमाले) ले गरेको वर्गीय लडाइँ र वर्गबैरीसँगको सहकार्यले हामीलाई बिचारविहीन बनायो, क्रमशः यसतर्फ धकेल्दै लग्यो भने कतिपय अपराधी र तिनका आपराधिक शक्तिसँगको सहकार्यले पार्टी राजनीतिक संरक्षणस्थल बनेको तर्फ सामाजिक–सांस्कृतिक बिकृतिको रूपमा देखिएको पक्षलाई गम्भीर समिक्षा सहित त्याग्न सक्नुपर्छ ।
यसो गरिएन भने सामाजिक–सांस्कृतिक रूपमा मुन्टो नलुकाइ उभिन सक्ने, शीर ठाडो गरेर पेश हुन सक्ने, सदाचारी, आचरणयुक्त, इमानदार, लगनशील र निष्ठाले भरिएका नेता कार्यकर्ताहरू ओझेल पर्दै जाने, निराशा हुने र यसको ठाउँमा सामाजिक–सांस्कृतिक रूपले गहनाएका, बद्नाम, भ्रष्ट, अनैतिक, आशक्ति, सुविधाभोगी र तिनका स्वार्थ समुहका सलामीहरू मात्र पार्टी र पार्टी सम्बद्ध जनसंगठनको नेतृत्वमा पुग्दै जानेछन् ।
नेतृत्वमा अवपादबाहेक धेरैलाई हेर्दा– कम्युनिष्ट र गैरकम्युनिष्ट फरक देखाउन सक्ने, छुट्याउन सक्ने र खुट्याउन सक्ने नाम–निशान हराउँदै गएको छ । अहिले पनि कहिल्यै केही अवसर नपाएका पार्टी सदस्यहरूले पार्टीलाई औधी माया गरेको र भावनात्मक रूपमा पार्टीलाई बचाइराखेको देखिन्छ । कम्तिमा एकपटक अवसर पाउनेहरूले फेरीफेरी अर्कोपटक नपाउँदा अपवादबाहेक पार्टीलाई सत्तोश्राप गर्ने, मौका पर्नासाथ माछा मार्न पानी धमिल्याउने र हुँडलो हाल्ने काममा संलग्न भएको देखिन्छ ।
देशबाहिर बसोबास गर्ने हामी प्रवासी नेपालीहरू प्रत्यक्ष परोक्ष लाभबाट टाढा छौं । देशको बृहत्तर हितोन्नति पहिलो शर्त मानेका र कुनै न कुनै ढंगले यसमा संलग्नता अनिवार्य कर्तव्य ठानेका हुन्छौं । एमालेले मात्र यस कामको अगुवाइ गर्न सक्छ भन्ने मनभरिको विश्वास लिएर बसेका प्रवासी नेपालीलाई अन्तरपार्टी कलह, झगडा, तेजोबध कहिल्यै पनि राम्रो लाग्दैन । शान्त, सभ्य र समृद्ध समाजको परिकल्पना शान्त, सभ्य र समृद्ध राजनीतिक नेतृत्वले मात्र दिन सक्छ भन्ने बुझाइबाट विकसित हामी देशबाहिर देश खोज्ने नेपालीहरू एमालेको अन्तरजीवनको कमरेडली अन्तरघुलन चाहन्छौं ।
देशभित्र देखादेखी एकले अर्कोलाई सक्न सार्वजनिक ढंगले लाग्ने, परस्पर कसैले कसैलाई खुइल्याउन सके आफ्नो बहादुरी ठान्ने र आमरूपमा कतिपय नेता कार्यकर्ताले चुनावदेखि चुनावसम्मको फुर्तिफार्तीलाई पार्टी ठान्ने, उम्मेदवारीको टिकटलगायत राजकीय क्षेत्रका अवसर पाए फलानाको खुबै गुणगान गर्ने र नपाए निराशा, कुण्ठा र हतासा जताततै पोख्ने गरेको विषयले हामीलाई नराम्रोसँग चिमोटिने गर्दछ । अवसर अभावको असन्तुष्टि, परस्पर अविश्वास, अन्तरघात, अन्तर्विरोध र अत्यन्तै अलोकतान्त्रिक पात्र विशेष प्रवृत्ति मौलाएको देखेर खिन्नता भरिने गर्दछ ।
अपवादबाहेक अधिकांशमा सामाजिक इमान, राजनीतिक निष्ठा, कम्युनिष्ट आचरण, सदाचारयुक्त कार्यशैली, सरल–सादगी व्यवहार पूरै समाप्त भएको, अर्थात् स्वयंलाई उपरखुट्टिवाला गजधम्बे सामन्तशैलीमा ठालू महाजन जस्तो देखिन रुचाउने स्थिति विकास भएको देखिन्छ । जनस्तरको कार्यशैली र प्रगतिशील आचरण अनिवार्य पुर्नस्थापित गर्नुपर्ने देखिन्छ ।
ध्यान पुग्नुपर्ने केही पक्षहरू
हामीले प्राप्त गरेको आजको राजनीतिक प्रणाली र विद्यमान राज्य व्यवस्था साधन मात्र हो, साध्य होइन । साध्य भनेको जनताको जीवनस्तर अथवा समग्र अवस्था परिवर्तन गर्ने कुरा हो । अर्थात् हाम्रो परिवेशसुहाउँदो समाजवादको आधारशीला निर्माण गर्ने कुरा हो । यो आत्मसम्मानको वातावरण निर्माणको कुरा हो । यसनिम्ति परनिर्भरताको अन्त्यसँगै स्वनिर्भर बन्ने कुरा हो । उत्पादनका हिसावले आयात प्रतिस्थापन गर्दै निर्यात बढाउने कुरा हो । यो प्राप्तिको बाधक उपल्ला केही भद्दामजाक लाग्ने तौरतरिका र प्रक्रिया तोड्नुपर्छ । यसको लागि धेरै केही गर्नुपर्दैन । अलिकति संकल्प दोहोराए मात्र पुग्छ, कार्ययोजनाका साथ संकल्प लिएमात्र हुन्छ ।
हाम्रो साझा संकल्प र कार्ययोजना सहितको अग्रसरताले यसका लागि नेकपा (एमाले) धर्तिकै शक्तिशाली शक्तिको रूपमा उभ्याउन जरुरी छ, एमालेको पक्षमा जनविश्वासको गणित आर्जन गर्न जरुरी छ । हिजो र आज पनि जनस्तरमा रहेका लगनशील, अध्ययनप्रेमी, इमानदार, बौद्धिक र मेहनती एमालेहरूको समर्थन जनतासँग आश्रित छ । मूलभूत रूपमा उनीहरूसँग जनताको कुनै गुनासो छैन । बस गुनासो अनैतिक आचरणयुक्त एक दुई प्रतिशत व्यक्तिसँग छ । विडम्बना ! हिजो जुन वर्गविरुद्ध लडियो, आज त्यहि वर्ग एमालेको नेतृत्वमा छ ।
बहालवाला मन्त्री, गृहमन्त्री रहेको बेला देश लुटिन्छ, नागरिक ठगिन्छ र मानवतस्करको जालो फैलिन्छ र सञ्जाल निर्माण गरिन्छ । यसको चिरफाड र भण्डाफोरको साटो अन्देखी झैँ गरेर औपचारिक जग निर्माण गर्ने प्रयास गरिन्छ । यो गतिविधिमा सामेल नेतृत्वलाई बदल्नु पर्दछ । अपराधमा संलग्न र श्रोत नखुलेको आयमा बिलासितापूर्ण जीवन जिउनेहरूलाई पार्टीबाट अविलम्ब हटाउनुपर्दछ ।
नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादलाई समर्थन नगर्ने र बिचारसँग मेल नखाने व्यक्ति, शक्ति, हत्याहिंसा र लुटको पृष्ठभूमि भएकालाई सँगसँगै हिडाउने कुराको प्रयत्न गर्नुहुँदैन । पार्टी सरकार निर्माण वा चुनावका अघिपछि कहिल्यै पनि, सहकार्य गर्नु हँुदैन । लाभको लागि, आडको लागि र भरोसाका लागि एमालेमा प्रवेश चाहने साना दलका यी ठूला नेताहरूलाई एमालेमा प्रवेश दिनुहुँदैन ।
केन्द्रदेखि वडासम्मका पार्टी संगठनले सैद्वान्तिक आचरण अनिवार्य परिपालनामा रहँदै वर्गीय पक्षधरता र प्रतिस्पर्धालाई जोरदार ढंगले उठाइरहनु पर्दछ ।
इतिहासदेखि अहिलेसम्म नै नेपाली जनमतका लागि प्रवास आफैंमा एउटा अत्यन्तै उर्बर भूमि हो । कहिल्यै लिन होइन, हर्दम दिन मात्र जान्ने यो समुदायका मुद्दामा नेतृत्व मुखरित हुनुपर्छ । सहज प्रवासन, समान ज्याला सहितको श्रमकार्यस्थल निर्धारण, सम्मानपूर्वक बाँच्न पाउने आधार निर्माण आदि प्रवासी श्रमिक कामदारका आधारभूत मुद्दाहरू हुन् । प्रवास र घरबासकै लक्षित समुदायका मुद्दासँग आफूलाई संगठित ढंगले माझ्दै र खार्दै धारिलो बनाइरहनुपर्छ ।
नेकपा (एमाले) निर्माणको राजनीतिक–बैचारिक अन्तरवस्तु, निर्माणक्रममा आइलागेका चुनौतिहरू र सञ्चालनमा जनअभिमत, जनसहकार्य, यसबाट प्राप्त विकास, समृद्धि, सुशासन, सभ्य–सुसंस्कृत समाज निर्माण र राष्ट्रियताको लागि भएको हो भन्ने कुरालाई व्यवहारमा पुष्टि गर्न सक्नुपर्छ । हाम्रो कार्यक्षेत्र र गन्तव्य यसबाट बिचलित छैन, निर्माणकालदेखि आजसम्म अविराम र अविचलित छ भन्ने कुरा सचित्र देखाउन सक्नुपर्छ । यसको पक्षमा उभिन सक्ने, देखिन सक्ने र सहयोगी बन्न सक्ने शक्ति मात्र एमाले पक्षधर हुनसक्छ भन्ने अभिमतलाई जनजिब्रोको भाषा, भाका र लयमा अनुवाद गराउन सक्नुपर्छ ।
अहिले एमालेभित्र धनाढ्य वर्ग अर्थात् धनि र समृद्धहरू नै मेहनती, सक्षम र बौद्धिक हुन्छन् भन्ने अफवाह र भ्रामक भाष्य सिर्जना गर्न खोजिएको छ । बहुसंख्यक आधारभूत वर्गको आधारभूत तहमा पडक छैन भनेर गुमराह गर्न खोजिँदै छ । यसो भन्नेहरू जनताका वर्गबैरी हुन् । यसबेलाको वैकल्पिक शक्ति भनेको एमाले हो । यसको आकर्षणता देखाउन र जनताको तहको मृगतृष्णा मेटाउन एमालेलाई लक्षित समुदायको साथीको रूपमा एमालेलाई उभ्याउन घरबास र प्रवास एकलय, एकताल र एकसुरमा हिड्न सक्नुपर्छ
अहिले एमालेभित्र धनाढ्य वर्ग अर्थात् धनि र समृद्धहरू नै मेहनती, सक्षम र बौद्धिक हुन्छन् भन्ने अफवाह र भ्रामक भाष्य सिर्जना गर्न खोजिएको छ । बहुसंख्यक आधारभूत वर्गको आधारभूत तहमा पडक छैन भनेर गुमराह गर्न खोजिँदै छ । यसो भन्नेहरू जनताका वर्गबैरी हुन् । यसबेलाको वैकल्पिक शक्ति भनेको एमाले हो । यसको आकर्षणता देखाउन र जनताको तहको मृगतृष्णा मेटाउन एमालेलाई लक्षित समुदायको साथीको रूपमा एमालेलाई उभ्याउन घरबास र प्रवास एकलय, एकताल र एकसुरमा हिड्न सक्नुपर्छ ।
झ्वाट्ट हेर्दा के पनि देखिन्छ भने अहोरात्रकालपर्यन्त अथक मेहनत गरेर पनि असफल राज्यका गलत नीति र मुट्ठिभर शासक वर्गद्वारा रचित नियतिले ठगिएको वास्तविक श्रमिक र विपन्न वर्ग जतिजति देशदेखि टाढिँदै गएको छ, उतिउति नै पार्टीदेखि टाढिँदै गएको छ । यो वर्गको समस्याको सम्बोधन र पार्टीमा उनीहरूको हैसियतपूर्ण व्यवस्थापन कायम गर्नु पर्दछ ।
सहज बेलामा रमाइलो मान्दै संगठन गर्ने, नेता बन्न मरिहत्ते गर्ने, अति नै रूचि राख्ने तर नेता बनेपछि कर्तव्य भुल्ने, पद र मर्यादामुनिको कर्म गर्न नचुक्ने, संगीसाथी र मातहतको कार्यकर्ता एवं समर्थकको समस्या समाधानमा पिटिक्कै रूचि नलिने, समस्या हुँदा टाढिँने, समयसंवादमा नआउने, अदृश्य र अप्रिय चिनजानको व्यवहार गर्ने, व्यवहारिक निचता प्रकट गर्नेबाट नेतृत्वमुक्त हुनुपर्छ । समयक्रममा देखिने, भेटिने र प्रकट हुने घात, प्रतिघात र अन्तरघात पनि यहिं हो ।
यी मनुवा रूबाट पार्टीको राजनीतिक–बैचारिक कामको गतिको अपेक्षा त होइन, प्राप्त गतिको पनि अधोगतिको यात्रा आरम्भ भएको हुनेछ र एमाले क्रमिकरूपमा दलाल पुँजीवादी पार्टीमा रूपान्तरित हुने अभ्यासतर्फ अग्रसर हुनेछ । यो पात्र विशेष रोग प्रवृत्तिमा आउनुपूर्व नै यसलाई रोक्न सक्नुुपर्छ र पार्टीलाई साँचो अर्थमा श्रमजीवी सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने पार्टीको रूपमा पुरानो हैसियतका साथ दुई कदम पछि फर्केर एक कदम अघि बढ्न जरूरी छ ।
निश्चय नै नेकपा (एमाले) बहुलवाद, कानुनी व्यवस्था, संविधानको सर्वोच्चता र प्रतिस्पर्धाको श्रेष्ठता स्विकार गर्ने पार्टी हो । यो मार्क्सवाद लेनिनवादको आलोकमा श्रमजीवी वर्गको वर्गीय पक्षधरता लिएको पार्टी हो । त्यसैले हाम्रा सम्पूर्ण क्रियाकलाप त्यसतर्फ लक्षित र केन्द्रित हुनुपर्दछ । प्रयोग र प्रयासको यो आधारमा पार्टीको सुदृढीकारण, विकास र सञ्चालन सम्भव हुनेछ, गर्विलो इतिहासबाट सिक्दै वर्तमानको सुधारसहित उज्ज्वल भविष्यको निर्माण गर्न सकिन्छ । यसैमा हामी सबैको कल्याण सुनिश्चित छ ।
(चण्डीगढ निवासी लेखक बस्याल एमालेसम्बद्ध प्रवासी नेपाली संघ भारतको केन्द्रीय नेता हुनुहुन्छ ।)













प्रतिक्रिया दिनुहोस्