जनता टाइम्स

१९ जेष्ठ २०८०, शुक्रबार १९:३०

एनआरएनएमा ‘एकता महाधिवेशन’ गर्न शेष घले तयार


काठमाडौं, १९ जेठ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घले र वहालवाला महासचिव गौरीराज जोशीबीच भेटवार्ता भएको छ । अमेरिका भम्रणमा रहेका घले र जोशीबीच टेक्सासमा भेटवार्ता भएको हो। भेटमा संघलाई अब एक ढिक्का बनाउने विषयमा कुराकानी भएको छ ।

१० औं महाधिवेशनका बेला विवाद भएपछि घलेले कोरियाका विनोद कुवँरको नेतृत्वमा छुट्टै ‘एनआरएनए’ को घोषणा गर्नुभएको थियो । त्यसयता उहाँको संस्थापन पक्षसँग सम्बन्ध ‘चिसिए’को थियो । घलेले केही दिनअघि मात्र क्यानाडामा आफ्नो पक्षको सम्मेलन गर्नुभएको थियो । टोरोन्टोमा दुई दिने सम्मेलन सकाएर उहाँ अमेरिकी भम्रणमा निस्कनुभएको हो ।

भेटमा महासचिव जोशीले विगतका तिता–मीठा कुरालाई बिर्सिएर अव एकताको विकल्प नरहेको बताउँदै यसका लागि सकारात्मक भुमिका निर्वाह गर्न घलेलाई आग्रह गर्नुभएको थियो । जवाफमा घलेले आफू एकता विरोधी नभएको बताउँदै संघलाई एक ढिक्का बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

घलेले आगामी महाधिवेशनको विषयमा पनि महासचिव जोशीसँग चासो राखेका थिए । घलेले सबै पंञ्जीकृत सदस्यलाई मतादानको अधिकार दिनुपर्ने अडान राख्नुभएको थियो । सम्मेलन प्रत्यक्ष र अनलाइन दुवै माध्यमबाट हुने भएपछि सबै सदस्यलाई भोट हाल्ने व्यवस्था मिलाउन उहाँले जोड दिनुभएको थियो ।

घलेले विगतको अधिवेशनको कुरा उठाउँदै त्यसबेला आफूले पाएको जिम्मेवारी पूरा मात्र गरेको बताउँदै संघ फुटाउन आफूमाथि लागेको आरोपको बचाउ गर्नुभएको थियो । त्यस्तै घलेले विधानविपरीत जाने छुट कसैलाई नभएको बताउनुभयो । आगामी महाधिवेशन एकताको महाधिवेशन गर्नुपर्ने जोशीको आग्रहमा घलेले आफूले भरपूर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।