जनता टाइम्स

२० जेष्ठ २०८०, शनिबार १०:३६

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढयो खरिद


लन्डन, २० जेठ । विश्वभरका केन्द्रीय बैंकहरूमा सुन किन्ने प्रतिस्पर्धा बढ्दै गएको छ । विश्व वित्तीय बजारमा बढ्दो अस्थिरताका बीच विभिन्न केन्द्रीय बैंकहरूले सुनमा लगानीलाई सुरक्षित मानिरहेका छन् । मौद्रिक विज्ञहरूका अनुसार यो पनि अमेरिकी डलर प्रतिको निरन्तर घट्दो विश्वासको सङ्केत हो । विश्वको वर्तमान प्रवृत्ति अन्तर्राष्ट्रिय व्यापारमा डलरको विकल्प खोज्ने हो। यो घटनालाई डलराइजेसन भनिन्छ ।

सुनको भण्डार भर्ने विश्वास

विश्व सुनको कारोबार गर्ने संस्था ‘वल्र्ड गोल्ड काउन्सिल’ ले भर्खरै प्रमुख देशका केन्द्रीय बैंकहरू बीच सर्वेक्षण गरेको थियो । आफ्नो प्रतिवेदनमा आगामी ५ वर्षमा ६२ प्रतिशत केन्द्रीय बैंकको मौज्दातमा सुनको मात्रा बढ्ने अनुमान गरिएको छ । विश्व गोल्ड काउन्सिलले एक वर्षअघि पनि यस्तै सर्वेक्षण गरेको थियो ।

बिश्व डलरको विकल्प खोज्दै

विश्व गोल्ड काउन्सिलले आफ्नो प्रतिवेदनमा अमेरिकामा उच्च ब्याजदर, मुद्रा स्फीतिको चिन्ता र भूराजनीतिक खतराका कारण आफ्नो भण्डारमा सुनको मात्रा बढाउने निर्णय विवेकपूर्ण रहेको जनाएको छ । यिनै कारणबाट प्रेरित भएर केन्द्रीय बैंकका पदाधिकारीले सुन खरिदको निर्णय लिइरहेका छन् । विशेषगरी युक्रेन युद्ध सुरु भएपछि केन्द्रीय बैंकहरूले सुनको खरिद बढाएका छन्। युक्रेन विरुद्धको सैन्य कारबाहीलाई ध्यानमा राख्दै पश्चिमी देशहरूले रुस माथि कडा प्रतिबन्ध लगाएका छन् । जसले पनि सुन खरिदलाई प्रेरित गरिरहेको छ ।

यसलाई अन्तर्राष्ट्रिय भुक्तानीको प्रणालीबाट बाहिर राखिएको छ। मुख्यत अमेरिकाले त्यहाँका बैंकहरूमा राखिएको रुसको ३०० अर्ब डलर जफत गरेको छ । यसले विश्वभर आफ्नो पैसा डलरमा राख्ने डर फैलियो र विभिन्न देशहरूले लगानीका लागि डलरको विकल्प खोज्न थाले। यस घटनाले पनि विश्वका केन्द्रिय बैंकहरुले भण्डारमा सुन राख्नु उनीहरूका लागि सबैभन्दा सुरक्षित विकल्प देखिएको मान्न थाले ।

१७६ प्रतिशत बढी सुन किनियो

विज्ञहरूका अनुसार अमेरिकामा जारी बैंकिङ सङ्कट, अमेरिकी सरकार माथिको कर्जाको बढ्दो मात्रा र अमेरिकी अर्थतन्त्र मन्दीको चपेटामा पर्ने त्रासका कारण विभिन्न देशमा डलर प्रति अविश्वास बढेको विज्ञहरूले बताएका छन् । गत वर्ष सुरु भएको सुन किन्ने क्रम यस वर्ष पनि जारी रहेको वल्र्ड गोल्ड काउन्सिलले जनाएको छ । यो वर्षको पहिलो तीन महिनामा केन्द्रीय बैंकहरुले अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७६ प्रतिशत बढी सुन खरिद गरेको सार्वजनिक गरेको छ । यो प्रवृत्ति विकसित देशहरूमा कम तर उदीयमान अर्थतन्त्र भएका देशहरूमा बढी देखिएको छ ।