जनता टाइम्स

२२ जेष्ठ २०८०, सोमबार ११:४६

बिहारमा गंगा नदीमा निमार्णधिन चार लेनको पुल भाँच्चियो


पटना, २२ जेठ । भारतको बिहारको भागलपुरमा गंगा नदीमा निर्माण भइरहेको पुल आइतबार तासको घर ढले जसरी भत्किएको छ । सन् २०१४ मा बिहारमा मुख्यमन्त्री नितिश कुमारले शिलान्यास गरेको पुल दोस्रो पटक भत्किएको हो । सो पुल भत्केको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा देखिए अनुसार पुलको एउटा पिलरको ३० भन्दा बढी स्ल्याब गंगा नदीमा खसेको देखिन्छ । यो पुल निर्माणको जिम्मा निजी कम्पनीलाई दिइएको थियो ।

गत ३० अप्रिल २०२२ मा यस पुलको पियर नम्बर ४०५ र ६ बीचको सुपर स्ट्रक्चर हावाहुरीले भत्काएको थियो । त्यसबेला पनि यो पुल निर्माण कार्यमा गम्भीर प्रश्न उठेको थियो । प्राप्त जानकारी अनुसार सुल्तानगञ्जदेखि खगरिया बिच निर्माण भइरहेको यो पुल चार लेनको थियो । निर्माणाधीन यो पुलको सुपर स्ट्रक्चर खोलामा खसेको छ । हालसम्म प्राप्त जानकारी अनुसार यस घटनामा कसैको हताहत भएको जानकारी छैन ।

पुलको केही भाग खोलामा परेको देखेपछि घटनास्थलबाट केही दूरीमा उभिएका मानिसहरुमा भागदौड मच्चिएको थियो । बिहार सरकारले भागलपुरको गंगा नदीमा निर्माण भइरहेको पुल भत्किएपछि छानबिन गर्न आदेश दिएको छ । बिहार सरकारले जारी गरेको विज्ञप्तिमा अनुसन्धानका क्रममा पुल भत्किनुको कारण पत्ता लगाउने र दोषी पाइएमा कडा कारबाही गरिने उल्लेख गरिएको छ । भागलपुरमा गंगा नदीमा निर्माण भइरहेको पुल भत्किएको विषयमा सञ्चारकर्मीसँग कुरा गर्दै बिहारका उपमुख्यमन्त्री तेजस्वी यादवले यस्तो पहिलोपटक नभएको बताउनुभएको छ ।

उहाँका अनुसार सन् २०२२ मा पनि आँधीका कारण यसको माथिल्लो भाग खसेको जानकारी दिनुभयो । ‘त्यसबेला प्रतिपक्षमा हुँदा पनि हामीले प्रश्न उठाएका थियौं’ उहाँले भन्नुभयो । सो बेला सरकारले आईआईटी रुर्कीलाई छानबिनको जिम्मा दिएको थियो, जसमा धेरै सुझावहरु पनि दिईएको थियो, सोही सुझावका आधारमा केही निर्माण कार्य भत्काइएको थियो । सो पुल भत्किए पछि भाजपाले मुख्यमन्त्री नितिश कुमारमाथि हमला सुरु गरेका छन । गंगामाथी भएको पुल भ्रष्टाचारको सिकार परेको भाजपाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।