जनता टाइम्स

२४ जेष्ठ २०८०, बुधबार ०६:४१

बाँध भत्किंदा हजारौं मानिस विस्थापित


युक्रेन ,२४ जेठ । दक्षिण युक्रेनको खेरसान प्रान्तस्थित काखोव्का बाँध भत्किंदा हजारौं मानिस विस्थापित भएका छन् ।

निप्रो नदीमा बनाइएको बाँध भत्किएपछि पानीको बहाव बाढीजस्तो बनेर वस्तीमा पसेको छ । यसबाट कयौं वस्ती जलमग्न भएका छन् । बाँध भत्किएपछि खेरसन सहर बढी प्रभावित भएको छ ।

८० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यसले खेरसन सहरमा गम्भीर संकटको स्थिति ल्याउन सक्ने युक्रेनका अधिकारीहरुले बताएका छन् ।

बाढी र डुबानबाट प्रभावितहरुलाई खेरसानसँग जोडिएको मिकोलाइब भन्ने स्थानमा अस्थायी शिविर बनाएर राखिएको छ । प्रभावितहरुका लागि खाना, कपडा र औषधिको व्यवस्था गर्ने काम भइरहेको छ ।

उता युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले बाँध भत्किनुमा रुसलाई दोष दिएका छन् । जानीजानी बाँधमा बम आक्रमण गरेर भत्काइदिएको रुसमाथि आरोप छ ।तर रुसले आफूमाथि लगाइएको आरोपको खण्डन गरेको छ र युक्रेनकै गोलीबारीका कारण बाँध भत्किएको भनेको छ ।

यो दक्षिणी युक्रेनका भूभागको तटीय क्षेत्रमा पानी आपूर्तिको महत्वपूर्ण च्यानल मानिन्छ । यसबाट किसानहरुलाई सिँचाइ तथा खानेपानीको सुविधा पुर्याइएको थियो । साथै निप्रो नदीबाट विभिन्न जलविद्युत आयोजनाबाट बिजुली निकालिएको छ । बाँध भत्किएपछि ती जलविद्युत आयोजनामा पनि पानी घटेर बिजुली उत्पादन प्रभावित हुनसक्ने अधिकारीहरुले बताएका छन् ।