जनता टाइम्स

२७ जेष्ठ २०८०, शनिबार १७:००

तामाङ समाज कतारले ‘तेस्रो डम्फु साँझ–२०२३’ गर्दै


दोहा, २७ जेठ । नेपाल प्रवासी तामाङ समाज कतारले बहुप्रतिक्षित सांस्कृतिक कार्यक्रम ‘तेस्रो डम्फु साँझ–२०२३’ गर्ने भएको छ । कतारको दोहास्थित एक शान्दार तथा प्रतिष्ठित ‘रिजेन्सी हल्स’ हलमा कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष सुवास तामाङले बताउनुभयो । उहाँले हिजो साँझ पत्रकार सम्मेलनको आयोजना गर्दै यस कार्यक्रम नेपालको असार ८ गते (जुन २३) तारिख शुक्रबारको दिन हुने जानकारी दिनुभएको हो ।

उहाँले भन्नुभयो,‘तामाङ समाज कतार स्थापना कालदेखिनै आफ्नो समुदायको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढिकरणका लागि समर्पित हुँदै आएको छ । हामीले समुदायको शैक्षिक विकासका लागि “शैक्षिक बिकास कोष” स्थापना गरेका छौं । उक्त कोषमार्फत आफ्नो समुदायका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छौं । यस कार्यलाई निरन्तरता दिनका लागि डम्फु साँझको आयोजना गरिएको हो ।’

डम्फु साँझ कार्यक्रममा उपस्थित दर्शकहरूलाई मञोरन्जन प्रदान गर्ने, एक प्रामाणिक र मंत्रमुग्ध अनुभव दिलाउने कार्यक्रम रहेको छ । तामाङ समाज कतारले नेपालबाट अतिथि कलाकारहरू चर्चित गायक एवं संगितकार उर्गेन दोङ, सेलो गायक तथा संगितकार बैरागी मोक्तान र म्हेन्दोमाया गायिका तथा आरजे सविना तामाङलगायतलाई आमन्त्रित गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । आमन्त्रित कलाकारहरुले तामाङ समुदायको जीवन्त डम्फु र टुङना जस्ता लोक(मौलिक बाजासहितको संगीत, नृत्य र परम्परालाई प्रस्तुत गर्नुहुनेछ ।

आयोजक संस्थाले दोहा कतारमा रहनुभएका सम्पूर्ण तामाङ तथा गैर तामाङ दाजुभाइ तथा दिदिबहिनीहरूलाई कार्यक्रम हेर्दै तामाङ संस्कार–संस्कृतिको अनुभव बटुल्न, परम्पगत बाजा डम्फु र सेलोको भाकामा नाच्न, झुम्न र डम्फुको तालमा डुब्न कार्यक्रम हेरिदिनु हुन अनुरोध गरेको छ । नेपाल प्रवासी तामाङ समाज क़तारले समुदायलाई एकताबद्ध गर्न र आफ्नो सांस्कृतिक सम्पदा जोगाउन गरेको प्रयास सराह्नीय भएको जनाइएको छ ।

कार्यक्रमको बारेमा प्रष्ट पार्दै तामाङले भन्नुभयो,‘यस कार्यक्रम केवल तामाङ समुदायको मात्रै नभएर हामी तामाङहरूको समृद्ध संस्कार–संस्कृति ले नेपाललाई विश्वमाझ चिनाउँदछ यसर्थमा यस कार्यक्रम आम नेपाली जनसमुदायको हो । यसैले पृष्ठभूमि जस्तोसुकै भएतापनि दोहामा बसोबास गर्नेहुने सम्पुर्ण तामाङ तथा गैरतामाङ जनसमुदायहरुलाई यस कार्यक्रममा सहभागी हुन अनुरोध छ । हाम्रो संस्कृतिको सुन्दरताको अनुभव गर्दै गर्दा तपाईंले लिनुभएको एउटा टिकटको पैसाले शिक्षाको उज्यालो घामबाट बञ्चित अनाथ बालबालिकाहरूका लागि ठुलो सहयोग पनि मिल्नेछ ।’