जनता टाइम्स

३० जेष्ठ २०८०, मंगलवार ११:५८

‘यौन काण्ड’ ले बदनाम इटालीका ‘किंगमेकर’ बर्लुस्कोनीको निधन


रोम, ३० जेठ । इटालीका पूर्वप्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । बर्लुस्कोनी तीन पटक इटालीको प्रधानमन्त्री भइसकेका थिए, जो केही समयदेखि बिरामी थिए। बर्लुस्कोनी विगत ६ सातादेखि मिलानको एक अस्पतालमा उपचाररत थिए । बर्लुस्कोनी चार पटक इटालीको प्रधानमन्त्री भएका ब्यक्ति हुन ।

उनी सबैभन्दा पहिले सन् १९९४ मा पहिलो पटक इटालीको प्रधानमन्त्री बनेका थिए भने त्यसपछि सन् २००१ देखि २००६ सम्म इटालीको प्रधानमन्त्री थिए । सन् २००८ मा पुनः सत्तामा फर्किए तर ऋण संकटका कारण २०११ मा राजीनामा दिनुपर्यो र उनी राजनीतिबाट पनि टाढा भए । तर, २०१७ मा उनी फेरि सक्रिय राजनीतिमा प्रवेश गरेका थिए । सन् १९३६ मा इटालीको मिलानमा जन्मेका सिल्भियो बर्लुस्कोनी इटालीको सबैभन्दा ठूलो व्यावसायिक प्रसारणकर्ता मिडियासेटका मालिकसमेत हुन ।

उनी चर्चित फुटबल क्लब एसी मिलानका मालिकसमेत रहेका थिए । हाल, उनको पार्टी फोर्जा इटालिया इटालियन सरकारमा सहयोगी छ। इटालियन राजनीतिमा, सिल्भियो बर्लुस्कोनीलाई किंगमेकर मानिन्थ्यो र आफ्नो राजनीतिक करियरको उचाइमा, उनी इटालीको शक्तिको केन्द्रमा थिए । इटालीका किंग मेकर मानिने बर्लुस्कोनी सन २०१२ मा कर छलीको आरोपमा फसेका थिए भने सन् २०१३ मा भने सेक्स स्क्यान्डलको गम्भिर आरोप लागेको थियो ।