जनता टाइम्स

१५ भाद्र २०७६, आईतवार १३:५७

विर्तामोडमा सहाराविहीनलाई घर निर्माण


झापा,भदौ १५
विर्तामोड नगरपालिका–२ निवासी सहाराविहीन बन्नुभएकी ५५ वर्षीया दृष्टिविहीन धामो राजवंशीले घर पाउनुभएको छ । सहारा नेपाल सहकारी संस्थाको प्राविधिक सहयोगमा विर्तामोड नगरपालिकाले राजवंशीलाई घर निर्माण गरिदिएको हो । विर्तामोड नगरपालिकाले रु ५० हजार र नगरपालिकाको वडा नं २ ले रु एक लाख प्रदान गरेपछि स्थानीयवासीको समेत जनश्रमदानमा राजवंशीको घर निर्माण भएको हो ।

आफैँमा दृष्टिविहीन त्यसमाथि कसैको पनि सहारा नभएपछि नीता घतानीले धामोको घर निर्माणका लागि सबैसँग सहयोगको अपिल गर्नुभएको थियो । योसँगै सहारा नेपालले राजवंशीको घर निर्माणका लागि पहल गरेको थियो ।

आफ्नो भन्नु कोही नहुनु र भएका आँखा पनि गुम्नु यो भन्दा ठूलो विपत्ति जीवनमा केही नहुने भन्दै सहारा नेपालले प्राविधिक सहयोग गर्ने भएपछि विर्तामोड नगरपालिका र वडा कार्यालयले राजवंशीको घर निर्माणका लागि आर्थिक सहयोग गरेका थिए । नगरले घर निर्माणका लागि आर्थिक सहयोग गरे पनि रङरोगनका लागि रकम अभाव भएपछि रोट्र्याक क्लब अफ विर्तामोडले आज उहाँको घरमा रङरोगन गरेको विर्तामोड नगरपालिका–२ का वडाध्यक्ष नगेन्द्र सङ्ग्रौलाले जानकारी दिनुभयो ।