तत्कालिन एमाले फुटाएर ‘माले’ बनाइनु, नेकपा फुटाउनु, नेकपा (एस) नामक समूह गठन गरिनु यसकै उदाहरण हो र पछिल्लो अवस्थामा यो कथित ‘समाजवादी मोर्चा ।’ अर्को कुरा यो मोर्चा भनेको ‘बोतल पनि पुरानो, रक्सी पनि पुरानो, लेवल पनि पुरानै राखिएको छ । अर्थात गठबन्धन चलेको थियो, सत्ता साझेदारी चलेकै थियो, अनि के को यो हास्यास्पद ‘मोर्चा’ । रक्सी र बोतल पुरानै प्रयोग गरे पनि लेवल त लुकेर नयाँ लगाउनु ता कि केही समय झुक्याउन सकियोस् । सार्वजनिकरूपमा पुरानै लेवल टाँसेपछि कसले पत्याउनु ? सारमा भन्नु पर्दा कथित समाजवादी मोर्चा भनेको शिकारीबाट बच्न सुतुरमुर्गले पातमा टाउको उकाएर आफूलाई कसैले देखेको छैन भनेर ठान्नु जस्तै हो । अहिले धेरै कुरा नगरौं ।
यसिमा महत/ काठमाडौं । आज असार ४ गते सोमबार समाजवादी मोर्चाको घोषणा हुने भनेर समाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्ममा निकै हो–हल्ला चलाइयो । खासगरी एमालेबाट चोइटिएको नेकपा (एकीकृत समाजवादी) वृतमा यसको चर्चा बढी नै भयो । सो पार्टी सम्वद्ध एक युवाले त सामाजिक सञ्जाल फेसबुकमा ‘हामीले राजनीति जित्यौ’ भनेर समेत लेख्न भ्याए । अर्काले त्यसैगरी समाजवादी मोर्चाले अब लट्टिपट्टी पार्छ र मुलुक समाजवादमा पुग्छ भने जसरी सपनाको लड्डु खाइरहेको देखें । माओवादीमा, जसपामा पनि धेरथोर हर्षबढाई देख्न सकिन्छ तर नेकपा (एस) जत्तिको अलि होइन ।
नेपाली राजनीतिमा ‘मोर्चा’ को कुरा गर्दा २०४६ अघि वा बहुदलीय व्यवस्थाअघिको अवस्थामा पुग्नुपर्छ । नेपाली राजनीतिमा ‘मोर्चा’ शब्द त्यहिबाट स्थापित र चर्चित भएको हो । नेकपाका संस्थापक नेता क. पुष्पलालको सूरूदेखिकै एउटा दृष्टिकोण थियो, त्यो भनेको निरंकुश पञ्चायत व्यवस्था फाल्न वामपंथी र प्रजातान्त्रिक शक्तिबीचको एकताको संयुक्त प्रयासले मात्र संभव छ भन्ने दृष्टिकोण । आफूलाई प्रजातान्त्रिक शक्तिको मसिहा ठान्ने नेपाली कांग्रेसले त्यतिबेला पुष्पलालका यो धारण सुन्न चाहेनन् ।
२०१५ सालको आम निर्वाचनमा एक्लै दुईतिहाई बहुमत ल्याएको काँग्रेसले जम्माजम्मी ४ सिट जित्ने कम्युनिष्टलाई शक्ति नै मान्दैनथ्यो । विपी, कृष्णप्रसाद, गणेशमान काँग्रेसका नेता कम्युनिष्टलाई पञ्चायतकै गोटी मान्दथे केशरजंग रायमाझीका कारण । तर यही यस्तै प्रवृतिका तुलसी गिरीप्रति भने उनीहरू अनदेखा गर्दथे । अरू त अरू स्वयं कम्युनिष्टहरूसमेतले पुष्पलालको यो धारणालाई लामो समय अनदेखा गरे । ब्यक्तिगत कुन्ठा, इगोका कारण टुटफुट भएर स–साना टुक्रामा विभाजित भएका कम्युनिष्टहरूको जम्मैको एउटा साझा धारणा भने समान थियो नेपाली कांग्रेस पुँजिवादी पार्टी हो र यससँग कुनै पनि खालको सहकार्य गर्नु भनेको कम्युनिष्ट आन्दोलनप्रति गद्धारी गर्नु हो ।
यति हुँदा पनि कांग्रेस पञ्चायती व्यवस्था फाल्न चाहन्थ्यो र त्यसको ठाउँमा बहुदलीय व्यवस्थाको स्थापना गर्न चाहन्थ्यो । विभाजित कम्युनिष्टहरू कोही वोल्सेभिक क्रान्तिको वकालत गर्थे कोही चीनियाँ सास्कृतिक क्रान्तिको त कोही भारतको नक्सलवाडी आन्दोलनको वर्गशत्रु सफाया आन्दोलनको । कम्युनिष्टहरू वंशगत पराम्परामा आधारित राजतन्त्रको समुल अन्त्य चाहन्थे । कम्युनिष्ट र कांग्रेस दुवैले अनेकौ प्रयत्न गरे पञ्चायत र राजतन्त्र फाल्न । एक्ला एक्लैको केही जोड चलेन, शिवाय क्षतिबाहेक केही हात लागेन । अनि कम्युनिष्ट शक्तिहरू आइपुगे पुष्पलालले भनेको संयुक्त प्रयासको बाटोमा ।
२०४६ अघि फरक त थियो कम्युनिष्टहरू तत्कालिन अवस्थालाई सामन्तवादी व्यवस्था भनेर विश्लेषण गर्दथे र सान्तवादको धरातल पञ्चायत अनि त्यसको संरक्षक राजतन्त्र मान्दथे । काँग्रेस राजा राखेर पञ्चायत व्यवस्था मात्र फाल्न चाहन्थ्यो । जब धरातल नै रहदैन अनि राजतन्त्र पानीबिनाको माछो हुन्छ भन्ने विचारले कम्युनिष्टहरू पञ्चायत फाल्नका लागि काँग्रेससँग सहकार्य गर्न तयार भए । कम्युनिष्ट घटकहरू धेरै भएको र उनीहरूबीच एकअर्कालाई नस्वीकार्ने प्रवृति रहेकाले काँग्रेसले एक भएर आउन सुझाव दियो । माथि नै भनिसकिएको छ काँग्रेसमा २०१५ सालको धङधङी बाँकी नै थियो ।
यता कोसी, बागमति र नारयणीमा धेरै पानी वगिसकेको उसले चाल पाएको थिएन अर्थात तत्कालिन झापा विद्रोहको गर्भबाट जन्म भई विभिन्न हण्डरठक्कर खाँदै नेपाली जनताको मन–मनमा जरा फैलाएको तत्कालिन नेकपा (माले)को शक्तिसँग ऊ परिचित भएको थिएन । अनि तत्कालिन नकपा (माले) को अगुवाईमा अर्थात सो पार्टीमा महासचिव मदन भण्डारीको पर्दाभित्रको सकृयताबाट काँग्रेससंगको सहकार्यका लागि कम्युनिष्टहरूको मोर्चा बन्यो । नाम राखियो ‘बाम मोर्चा’ । त्यसको अध्यक्ष छानिइन साहना प्रधान । नेकपा (माले) का सबै नेता भूमिगत थिए, कम्युनिष्ट घटह पनि नेकपा(माले)को शक्तिसंग परिचित थिएनन् ।
त्यसैले पनि सबै धरातल आफैले बनाउने काम गरेको भए पनि तत्कालिन मालेका नेताले बाम मोर्चाको नेतृत्वमा दावी गरेनन् । कम्युनिष्ट आन्दोलनमा लामो समय विताउनुभएकी संस्थापक नेता पुष्पलालकी पत्नी भएकाले पनि मालेले नै नेतृत्वका लागि साहना प्रधानलाई अघि सारेको थियो, फरक पार्टीको भए पनि । अब कुरा गरौं २०८० साल असार ४ गते अवैधरुपमा जन्माइएको कथित ‘समाजवादी मोर्चा’ को – तत्कालीन अवस्थामा ‘बाम मोर्चा’ को लक्ष्य उदेश्य, मुख्य शत्रु, मित्र शक्ति सबै प्रष्ट थियो जनताले बुझ्ने भाषामा ।
पञ्चायत ढाल्ने शर्तमा तत्कालिन अवस्थामा कम्युनिष्टहरूले नेपाली कांग्रेसलाई मित्र शक्ति मानेका थिए र ऊसंग सहकार्यका लागि मोर्चा बनाइएको थियो । अहिले बनेको कथित समाजवादी मोर्चाको लक्ष्य, उदेश्य के ? शत्रु र मित्र शक्ति को ? के को लागि मोर्चा ? आगामी यात्रा पुरैसम्म औंसीको रातजस्तो अन्धकार छ, न गन्तब्य, न त लक्ष्य प्रष्ट छ । फरक विचार, धारणा र बुझाई भए पनि तत्कालिन साझा शत्रुलाई परास्त गर्न मोर्चा बनाइन्छ । हिजो घोषणा भएको समाजवादी मोर्चाको साझा शत्रु को ? कसकाविरुद्ध हो यो मोर्चा ?
कथित समाजवादी मोर्चाको वर्ग शत्रु हिडेन भनौ वा ओपन सेक्रेट छ त्यो हो, नेकपा एमाले । एमाले कसरी उनीहरूको शत्रु र कांग्रेस कसरी मित्र भयो भनेर जनतालाई दिने जवाफ उनीहरूमा छैन । त्यसैले शत्रु ‘हिडेन’ राखिएको बुझ्न गाह्रो छैन । जब माओवादी विस्तृत शान्ति सम्झौता मार्फत संसदीय राजनीतिमा आउँदै थियो, त्यतिबेला माओवादी भित्र एउटा झिनो स्वर सुनिएको थियो । ‘कम्युनिष्ट पार्टीले पनि संसदीय राजनीति गर्ने हो भने नेपालको परिप्रेक्ष्यमा त्यस्तो पार्टी एमाले छदैँछ नि, किन अर्को पसल थाप्नु पर्यो ?’ हो ! नेपालको सन्दर्भमा मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ यति यथार्थ, यति सान्दर्भिक हुँदै झाँगिदै गयो कि स्वयं संसदीय राजनीतिको मसिहा ठान्ने नेपाली काँग्रेस माथ खाँदै गएको छ ।
यस्तोमा उही नामका अर्को पसलले चल्न छाडे । यसमा विभिन्न प्रयोग भए तर अहं बहुदलीय जनवादको रणकौशलले सुसज्जित एमालेअघि कसैको केही जोर चलेन । त्यसैले अर्को निम्छरो प्रयोग हुँदैछ कथित ‘समाजवादी मोर्चा’ को । तत्कालिन अवस्थामा विश्व चर्चित अमेरिकी पत्रिकाले मदन भण्डारीको ओजलाई देखेर लेखेको थियो ‘नेपालमा कार्लमाक्र्स जीवित छन्’ भनेर । आज अमेरिकी पत्रिकाले लेखेको कार्लमाक्र्सको भौतिक शरीर नेपालमा जीवित नभए पनि उनको विचार जीवित छ । त्यो विचार फस्टाउदों क्रममा छ त्यसैले उनीहरू हायलकायल छन् ।
यो शक्तिलाई कमजोर बनाउन विभिन्न प्रयोग हुँदै आएका छन् । तत्कालिन एमाले फुटाएर ‘माले’ बनाइनु, नेकपा फुटाउनु, नेकपा (एस) नामक समूह गठन गरिनु यसकै उदाहरण हो र पछिल्लो अवस्थामा यो कथित ‘समाजवादी मोर्चा ।’ अर्को कुरा यो मोर्चा भनेको ‘बोतल पनि पुरानो, रक्सी पनि पुरानो, लेवल पनि पुरानै राखिएको छ । अर्थात गठबन्धन चलेको थियो, सत्ता साझेदारी चलेकै थियो, अनि के को यो हास्यास्पद ‘मोर्चा’ । रक्सी र बोतल पुरानै प्रयोग गरे पनि लेवल त लुकेर नयाँ लगाउनु ता कि केही समय झुक्याउन सकियोस् । सार्वजनिकरूपमा पुरानै लेवल टाँसेपछि कसले पत्याउनु ? सारमा भन्नु पर्दा कथित समाजवादी मोर्चा भनेको शिकारीबाट बच्न सुतुरमुर्गले पातमा टाउको उकाएर आफूलाई कसैले देखेको छैन भनेर ठान्नु जस्तै हो । अहिले धेरै कुरा नगरौं ।













प्रतिक्रिया दिनुहोस्