जनता टाइम्स

१६ भाद्र २०७६, सोमबार १६:४१

तीजमा युवतीसँगै छमछमी नाचे हजुरआमाहरु (फोटो फिचर)


भक्तपुर, भदौ १६ । महिलाको प्रमुख चाड तीजका अवसरमा आज यहाँका प्रमुख शिवालयमा भक्तजनको भीड लागेको छ । ब्रह्मा, विष्णु र महादेवको त्रिमूर्तिका रुपमा मानिने प्रसिद्ध दत्तात्रय मन्दिर, केदारनाथको शिर मानिएको सूर्यविनायक–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिर, आशापुरी महादेव मन्दिर, चित्तपोलको कैलाशनाथ महादेव मन्दिर, सिरुटारको सोमलिङ्गेश्वर, गुप्तेश्वर महादेव, कटुञ्जेको सुवर्णेश्वर महादेव मन्दिर, गुण्डुको अनन्तलिङ्गेश्वर महादेव मन्दिरलगायतमा आज महिला दर्शनार्थीको आज बिहानैदेखि घुइँचो लागेको छ । सिरुटारको गुप्तेश्वर महादेव मन्दिरमा मन्दिर व्यवस्थापन समितिले दोहोरी गीतको आयोजना गरेको समितिका भाइकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गरिएको छ ।

डोलेश्वरमा पनि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । दत्तात्रय मन्दिरमा पनि दर्शनार्थीको घुइँचो लागेको छ । यस्तै श्रीकृष्ण प्रणामी सेवा समितिले सूर्यविनायक नगरपालिका, चित्तपोल १० स्थित श्री राधाकृष्ण सत्संघ भवनमा तीज बिशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । सो अवसरमा भजन किर्तन गर्नुका साथै बृद्धा हजुरआमाहरुसमेत छमछमी नाच्नुभएको समाजसेवी शुमित्रा थापाले जानकारी दिनुभयो ।