जनता टाइम्स

१७ भाद्र २०७६, मंगलवार ०६:५२

राउत र खतिवडालाई देवदास श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार प्रदान


दोलखा, भदौं १७ । यो वर्षको देवदास श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार नीता राउत र रमेश खतिवडा पुरस्कृत हुनुभएको छ । जिल्लामा रहेर क्रियाशिल रुपमा पत्रकारिता गर्दै आएका पत्रकारलाई हरेक वर्ष प्रदान गरिदै आएको देवदास स्मृति पत्रकारिता पुरस्कार राउत र खतिवडालाई प्रदान गरिएको हो ।

दोलखा प्रदेश सभा सदस्य विशाल खड्काले नगद १० हजार सहित प्रमाण पत्रले पुरस्कृत गर्नुभयो । सोही अवसरमा पुरस्कारबाट प्राप्त भएको रकम पत्रकार निता राउतले नेपाल पत्रकार महासंघ दोलखाको भवन निर्माणका लागि संघका अध्यक्ष जीवन लामालाई हस्ताण्तरण गर्नुभयो । त्यसैगरि पत्रकार खतिवडाले पुरस्कार वापतको नगद ५ हजार र अन्य रकम थप गरि कुल २५ हजार रुपैयाँ भवन निर्माणका लागि सहयोग गरिने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष जीवन लामाको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा प्रदेश सभा सदस्य विशाल खड्का,नेकपा दोलखाका अध्यक्ष एवम् तामाकोशी गाउँपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेल, प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, नेपाल पत्रकार महासंघ दोलखाका पुर्व अध्यक्ष एवम् सल्लाहकार उद्धव प्रसाद पोखरेल, सामुदायिक रेडियो प्रशारक संघ (अकोर्याव) का केन्द्रीय कोषाध्यक्ष लक्ष्मण खड्का, प्रेस चौतारीका पुर्व केन्द्रीय सदस्य सरद सापकोटा, प्रेस युनियन दोलखाका अध्यक्ष दिपशंकर चौलागाई लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।