काठमाडौं, भदौ १७
प्रहरीले फ्रान्सका लागि पूर्वराजदूत केशव झाको हत्यारा पत्ता लागेको दावी गरेको छ । आधिकारीक रुपमा धारणा सार्वजनिक नगरेपनि प्रहरी स्रोतले दिएको जानकारी अनुसार प्रारम्भिक घटनाले ५० हजार रुपैयाँका लागि हत्या भएको देखिएको छ ।
दोस्रो पटक अनुसन्धान शुरु गरेको प्रहरीले घटनाको केही दिनभित्रै आधिकारीक विवरण सार्वजनिक गर्ने बताएको छ । अहिले प्रहरीको हिरासतमा उनकै घरमा लामो समय बसेका सुरक्षागार्ड काभ्रेका सानुकान्छा तामाङलाई ३१ साउनमा पक्राउ गरेको थियो । झा की श्रीमतिको किटानी जाहेरीपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
झा हत्याको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार सानुकान्छाले पूर्वराजदूत झासँग ‘एडभान्स’को रुपमा ५० हजार रुपैयाँ लिएको खुलेको छ । त्यही रकमको विषयमा उनीहरुबीच विवाद भएको बताइएको छ । ती अधिकारीले भने, ‘झाले सानुकान्छाले लिएको रकम तलबमा काट्ने कुरा गरेपछि सानुकान्छाले यत्रो वर्ष काम गर्दा ५० हजार पनि दिन नसक्ने भन्दै आक्रोश व्यक्त गरेका थिए । त्यही विवादले सानुकान्छाले नै हत्या गरेको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।’’
हत्यामा सानुकान्छाकै संलग्नता रहने अन्य प्रमाण समेत जुटेको प्रहरी अधिकारीको दाबी छ । एक वर्षको क्रममा प्रहरीले दुई सयभन्दा बढी व्यक्तिसँग झा हत्याबारे सोधपुछ, नियन्त्रण र निगरानी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्