जनता टाइम्स

२७ असार २०८०, बुधबार १७:३२

फिनल्याण्ड र स्वीडेन नेटोमा सामेल भएमा विश्व शक्ति समीकरणमा कति परिवर्तन हुन्छ ?


एजेन्सी, २७ असार । छिमेकी फिनल्याण्डको बाटो पछ्याउँदै स्वीडेनले पनि नेटोको सदस्यता लिनेतर्फ कदम चालेको छ । यी दुई देशको नेटो सदस्यताको बाटोमा केही समयदेखि टर्की बाधक बनेको थियो । तर अहिले टर्कीले आफ्नो विरोध फिर्ता लिएको छ ।

फिनल्यान्डले गत अप्रिलमा अमेरिका र युरोपेली देशहरूको सैन्य संगठन नेटोको सदस्यता लिएको थियो, त्यसपछि नेटो सदस्य राष्ट्रको संख्या ३१ पुगेको थियो ।

यी दुवै नर्डिक देशले लामो समयदेखि सैन्य तटस्थताको सिद्धान्त अपनाएका थिए तर गत वर्ष फेब्रुअरीमा युक्रेनमा रुसले गरेको आक्रमणपछि उनीहरुको दृष्टिकोणमा परिवर्तन आएको छ ।

यी देशहरू किन नेटोमा सामेल हुँदैछन् ?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनमाथिको आक्रमणले उत्तरी युरोपमा दीर्घकालीन शान्ति र स्थिरतालाई गम्भीर धक्का दिएको छ । यस युद्धका कारण स्वीडेन र फिनल्याण्ड पनि खतरनाक अवस्थामा पुगेका छन् ।

फिनल्याण्डका पूर्वप्रधानमन्त्री अलेक्ज्याण्डर स्टबले रुसले युक्रेनमा गरेको आक्रमणले आफ्नो देशको लागि नेटो सदस्यता महत्वपूर्ण बनाएको बताएका छन् । युक्रेन युद्धले फिनल्याण्डमा बस्ने धेरै मानिसहरूका लागि पुरानो सम्झनाहरू ताजा बनाएको छ ।

सन् १९३९ को अन्तिम महिनामा तत्कालीन सोभियत संघले फिनल्याण्डमाथि आक्रमण गर्यो । फिनल्याण्डको सेना सोभियत सेना भन्दा धेरै कमजोर थियो। यसका बाबजुद पनि फिनल्याण्डले विपक्षी सेनाको ठूलो बहादुरीका साथ सामना गर्यो ।

यो सङ्घर्ष मार्च १९४० सम्म जारी रह्यो, जसमा फिनल्याण्डले आफ्नो उत्तरी प्रान्त करेलिया गुमाउनुपर्‍यो। यस सङ्घर्षमा फिनल्याण्डले सोभियत संघलाई कब्जा गर्नबाट रोक्यो तर त्यसले आफ्नो दश प्रतिशत भूभाग गुमाउनुपर्‍यो ।

युनिभर्सिटी अफ हेलसिंकीका राजनीतिशास्त्रका प्राध्यापक इरो सार्का भन्छन् –युक्रेनमा जारी युद्धले इतिहासका सम्झनाहरू ताजा बनाएको छ। रुससँगको १,३४० किलोमिटर सीमाना हेरेर फिनल्यान्डका जनताले सोचिरहेका थिए ‘के हामीमाथि पनि यस्तो हुन सक्छ ?

स्वीडेनले पनि हालैका वर्षहरूमा आफूलाई खताराको अवस्थामा फेला पाएको छ। स्वीडेनको सैन्य कमजोरी सन् २०१३ मा देखा परेको थियो जब रुसी बमवर्षकहरूले स्टकहोममा आक्रमण गर्न अभ्यास गरे । स्वीडेनले यस मामिलामा नेटोको सहयोग लिनुपर्ने थियो ।

यसपछि सन् २०१४ मा रुसी पनडुब्बी स्टकहोम नजिकैको उथले पानीमा घुमिरहेको समाचारले स्वीडेनलाई समस्यामा पारेको थियो । त्यसपछि सन् २०१८ मा ‘‘युद्ध वा द्वन्द्व छ भने’ शीर्षकका केही पर्चाहरु स्वीडेनका घर–घरमा पुगेका थिए ।

सन् १९९१ पछि पहिलो पटक स्वीडेनमा यस्तो पर्चा जारी गरिएको हो ।