जनता टाइम्स

२७ असार २०८०, बुधबार १९:२५

सामाजिक सञ्जालमार्फत गठी गर्ने गिरोह समातियो, एक वर्षमै एक अर्ब नौ करोड ठगी


उदयपुर, असार २७ । सामाजिक सञ्जालमार्फत ७० हजार अमेरिकी डलर पठाएको छु भन्दै ठगी गर्ने सात जना पक्राउ परेका छन । पक्राउ परेकामध्ये तीन जना इन्जिनियर र एक जना भारतीय नागरिक रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार गुडनेस इशराल नामको फेसबुक आइडीबाट उदयपुरको कटारी नगरपालिका–४ की ३६ वर्षीया सरिता तामाङलाई साथी बनाइ एक लाख तीस हजार ६२७ रुपैयाँ ठगी गरेको आरोपमा उनीहरूलाई इलाका प्रहरी कार्यालय कटारीको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको उत्तराखण्ड राज्य, जिल्ला पौडीगढवाल व्लक एमकेश्वर, पोष्ट अफिस भृगुखालका ३६ वर्षीय प्रविण भट्ट रहेका छन । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्रप्रसाद फुयाँलका अनुसार आइटी इन्जिनियर रहेका भट्ट पछिल्लो समय ठगी गर्ने उद्देश्यले झापाको विर्तामोड नगरपालिका–५ इन्द्रटोल बस्दै आएको अनुसन्धानबाट खुलेको छ ।

त्यसैगरी सप्तरीको राजविराज नगरपालिका–१ डुम्रिका २५ वर्षीय डम्बर साह, बिष्णुपुर गाउँपालिका–२ सिम्रहा सप्तरीका २० वर्षीय निरजकुमार साह रहेका छन । उनीहरू दुबै जना आइटी इन्जिनियर हुन । प्रहरीका अनुसार प्रविण जेठ ८ गते, डम्बर असार १० र निरज जेठ २१ गते पक्राउ परेका थिए ।

त्यस्तै गुल्मीको इस्मा गाउँपालिका–५ का ३२ वर्षीय ध्रुव थापा, मोरङको विराटनगर महनागरपालिका–२० का ३७ वर्षीय हेमराज साह, झापाको झापा गाउँपालिका–१ बेलैतिवारीका ३१ वर्षीय वरजहान श्रेष्ठ र बारहको कलैया उपमहानगरपालिका–२० बसतपुरका २३ वर्षिय रुस्तम मन्सुरी रहेको एसपी फुयाँलले जानकारी दिनुभयो । ध्रुव असार ४, हेमराज, वरजहान र रुस्तम तीनै जना असार १३ गते पक्राउ परेका थिए ।

पक्राउ परेका सातै जनालाई जिल्ला प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको छ । एसपी फुयाँलले पक्राउ परेका व्यक्तिहरू विज्ञसहितको संगठित अपराधमा संलग्न रहेको जानकारी दिनुभयो । ‘नेपालको राजश्व ठगीमा यस्ता अपराधीहरू धेरै छन । विदेशबाट आउने रेमिट्यान्स कम गर्ने र आफूहरूमार्फत् नै हुण्डीको कारोबार गरी संगठितरूपमै मुलुकको राजश्व छली गर्ने गरेको पाइयो,’ उहाँले भन्नुभयो ।

अनुसन्धानको प्रक्रिया नयाँ र प्रविधिको प्रयोग गर्नुपर्ने भएकाले ५२ दिन हिरासतमा राख्न पाँच पटक अदालतबाट म्याद थप गरिएको छ । उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ अन्तर्गत ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) साथै संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।

आरोपितहरूले फेसबुकबाट लगेजलगायत अमेरिकी डलर ७० हजार पठाइदिएको छु, एयरपोर्टमा उक्त सामान रोकिएकाले जतिसक्दो चाडो एक लाख तीस हजार ६२७ रुपैयाँ पठाउनुस् अनि तपाईँको सामान पाउनु हुन्छ भन्दै प्रलोभनमा पारेका थिए । प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूको खातामा अवैध रकम जम्मा हुने र आफूले पाउने प्रतिशत राखी पुनः अर्को खातामा पठाउने गरेको तथ्य खुलेको छ ।

यसरी विभिन्न व्यक्ति तथा निजहरूले खोलेको संस्थाको खातामा एक वर्षमा एक अर्ब नौ करोड एक लाख ४२ हजार ३९३ रुपैयाँ ट्रान्जेक्सन देखिएको छ । प्रहरीको अनुसन्धानमा अपराधीहरूले सामाजिक सञ्जालको प्रयोग गरी सुक्ष्मरूपमा मानिसको आर्थिक हैसियत, सोचाई तथा व्यवहारिक ज्ञान र भावना बुझी विधि अपनाएको, विदेशी मुद्रा तथा सामग्रीको फोटो खिची फेसबुक मेसेन्जरबाट पठाउने गरेको खुलेको छ ।

त्यसैगरी फेसबुकमा साथी बनाइ प्रलोभनमा पारी विभिन्न व्यक्तिको नामा खोलिएको खातामा रकम जम्मा गर्न लगाउने, सामान्य व्यक्तिलाई अग्रभागमा देखाइ ठगी गर्ने मुख्य गिरोह सुरक्षित हुने प्रयास गरेको, जुवा, हुण्डी, युएसडीटीमा संलग्नता रहेको खुलेको छ ।