काठमाडौं, भदौ १७ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतले धरौटीमा छोड्न दिएको आदेश बदर माग गर्दै टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेल उच्च अदालत पुग्नुभएको छ ।
पत्रकार पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । उक्त आदेश बदरको माग गर्दै लामछिाने र कँडेल आज उच्च अदालत पाटनको हेटौंडा इजलास पुग्नुभएको हो । लामिछाने र कँडेललाई अघिल्लो सोमबार न्यायाधीश हेमन्त रावलको इजलासले धरौटीमा छाड्न आदेश दिएको थियो ।
लामिछाने र कँडेलले फौजदारी कार्यिवधि संहिता २०७४ को दफा ७३ बमोजिम भदौ ९ गतेको चितवन जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरिपाऊँ भनी निवेदन दर्ता गराउनु भएको हो ।लामिछाने र कँडेलको निवेदनमाथि भोलि प्रारम्भिक सुनुवाइ गर्ने उच्च अदालत हेटौंडा इजलासले जनाएको छ ।
गत साउन २० गते चितवनमा आत्महत्या गरेका पत्रकार पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भिडियोमा लामिछाने र कँडेल र अस्मिता कार्कीको नाम पोलेका थिए । अदालतले कार्कीलाई साधरण तारेखमा रिहा गरी दुई जनासँग धरौटी माग गरेको थियो । सोही निर्णय बदरको मागसहित उच्च अदालत पुग्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्