जनता टाइम्स

३१ असार २०८०, आईतवार ०८:२३

खानामा विष मिसाउने चिनियाँ महिला शिक्षिकालाई फाँसी


बेइजिङ, ३१ असार । चीनमा एक महिला शिक्षिकालाई मृत्युदण्ड दिइएको छ । महिला शिक्षिकाले आफ्ना २५ विद्यार्थीलाई विष खुवाएको र जसमध्ये एक बालकको मृत्यु भएको आरोपमा उनलार्इ फाँसी दिइएको हो ।

सो पछि २४ बालबालिकाको अवस्था नाजुक भएको थियो । यस घटनामा दोषी ठहरिएपछि ती बालवाडी शिक्षिकालाई गत शुक्रबार फाँसी दिइएको हो ।

चीनको हेनान प्रान्तको यो घटना चार वर्ष पुरानो हो, जब एक शिक्षिकाले यो घृणित घटना घटाएकी थिइन् । दोषी शिक्षिकाले बालबालिकालाई नाइट्रेटको रुपमा विष दिएकी थिइन् । यसपछि २०२० मा नै सजाय भोगेका आरोपी शिक्षिकालाई प्रहरीले हिरासतमा लिएको थियो । तर, ३९ वर्षीय वाङ युनले सन् २०२० को सेप्टेम्बरमा सुनाइएको सजायको विरुद्ध हेनान प्रान्तको जियाओजुओ सिटी इन्टरमिडिएट पिपुल्स कोर्टमा अपिल गरिन् जुन अदालतले खारेज गरिदियो।

चिनिया सञ्चारमाध्यमका अनुसार गत शुक्रबार अदालतले वाङको अपराधको पहिचान पुष्टि गर्यो, उसलाई मृत्युदण्डको स्थलमा लगियो र मृत्युदण्डको सजाय सुनाइएको थियो । विद्यार्थीहरूको व्यवस्थापन भन्ने विषयमा एक सहकर्मीसँगको विवादपछि २७ मार्च २०१९ मा मेङ्मेङ प्रि स्कूल एजुकेशनमा बालबालिकाहरूलाई दिइने खाजामा विषाक्त सोडियम नाइट्राइट थपेको वाङलाई दोष लगाइएको थियो।

चिनियाँ सञ्चारमाध्यमका अनुसार विषाक्त खाएका बालबालिका उपचारपछि निको भए पनि एक बालकको अवस्था भने निरन्तर बिग्रँदै गएको थियो । र १० महिनाको उपचारपछि उनको मृत्यु भयो । वाङको यो केसले चीन लगायत विश्वको ध्यानाकर्षण गराएको थियो ।

यसअघि महिला शिक्षिकाले पनि श्रीमानलाई विष खुवाएर घाइते बनाएकी थिइन् । यद्यपि दोषी शिक्षकले किन यो सबै गरे भन्ने खुल्न सकेको छैन ।

मानव अधिकार एनजीओ एम्नेस्टी इन्टरनेशनलको अनुमान अनुसार चीनले हरेक वर्ष हजारौं मानिसलाई मृत्युदण्ड दिने गरेको छ, जुन अन्य कुनै पनि देशको तुलनामा धेरै हो।