जनता टाइम्स

७ श्रावण २०८०, आईतवार १६:५३

सन्दर्भ ४५ औं पुष्पलाल स्मृति दिवस : पुष्पलालका विचार र मदन भण्डारी


ईश्वरी काफ्ले

आज नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक क. पुष्पलाल श्रेठको ४५ औं स्मृति दिवस हो । नेपालमा पुष्पलालका अनुयायी हौं भन्ने नेपालका विभिन्न कम्युनिष्ट पार्टीले विविध कार्यक्रम गरी क. पुष्पलालको स्मृति दिवसको कर्मकाण्ड पुरा गर्दैछन् । विक्रम सम्वत १९८१ असार १५ गते रामेछापको भंङ्गेरीमा जन्मेका पुष्पलालको बि.सं.२०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अलइन्डिया मेडिकल इन्स्टिच्युटमा उपचारकै क्रममा निधन भएको थियो ।

बि.स. १९९७ मा आफना दाजु गंगालाललाई गोली ठोकेर मार्नुभन्दा एकदिन अघि भेट्न पुगेका पुष्पलाललाई दाजुको ‘माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैले अझ प्रज्वलित पार्नेछन्’ भन्ने शब्द नै राजनीतिमा लाग्ने प्रेरणाको श्रोत बन्यो । सोही प्रेरणास्वरुप उहाँले १९९८ मै प्रतिज्ञापत्रमा रगतले सही गर्दै नेपाली प्रजातान्त्रिक संघको गठन गर्नुभयो । संघको सदस्यमा प्रेमबहादुर कंशाकार, शम्भुराम श्रेष्ठ, सुर्यबहादुर भरद्वाज र रामराजाप्रसाद सिंह सदस्य थिए । पछि उहाँ नेपाली राष्ट्रिय कांग्रेसमा जोडिनु भयो । २००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसले गरेको नागरिक अधिकार आन्दोलनको नेतृत्व उहाँले गर्नुभएको थियो । जनताले नागरिक अधिकारका लागि गरेको यो पहिलो आन्दोलन मानिन्छ । जसको परिणामस्वरुप निरंकुश जाहानियाँ राणा साशनका तत्कालिन प्रधानमन्त्री श्री ३ पद्म शमशेरले सुधारका केही कदम चाल्न वाध्य भएका थिए ।

नेपाली राष्ट्रिय कांग्रेसमा भएको आपसी खिचातानी, विवादले वाक्क भएका पुष्पलाललाई भारतीय कम्युनिष्ट पार्टीका नेताहरूको संगतले जीवनमा नयाँ मोड ल्याइदियो । यसकै परिणामस्वरुप उहाँले २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टीले गठनको झण्डै साढे चार महीनापछि ३० भदौ २००६ मा आफ्नो पहिलो घोषणापत्र प्रकाशन गर्‍यो । घोषणापत्रले पनि नागरिक स्वतन्त्रता र समानताको लागि जोड दिएको छ ।

घोषणापत्रको भाग–४ को पहिलो बुँदामा ‘सामन्ती एकतन्त्रशाही तथा विदेशी आधिपत्यको पूर्ण उन्मूलन र पूर्ण तथा वास्तविक स्वाधीनता’, तेस्रो बुँदामा सर्वसाधारणलाई पूर्ण स्वतन्त्रता, आधारभूत आर्थिक अधिकारको ग्यारेन्टी र सम्पूर्ण भेदभाव अन्त्य गर्ने ‘बालिग मताधिकारमा आधारित संविधान’ मा जोड दिइएको छ । यसै खण्डको आठौं बुँदामा ‘दमनकारी कानूनहरू खारेज गर्न’ माग गरिएको छ ।

लोकतान्त्रिक मूल्यलाई पार्टीको आधारभूत नीतिमा समेटेका पुष्पलालले लोकतन्त्रको झण्डालाई निरन्तर उँचो उठाएको उहाँको व्यवहारले नै सिद्ध गर्छ । जसले लोकतन्त्रको मोर्चामा उहाँलाई अग्रणी स्थानमा उभ्याएको छ । साम्राज्यवादप्रति पुष्पलालमा चरम घृणा थियो । उहाँले आफ्ना लेख–रचनाहरूमा गोर्खा भर्तीको कटु आलोचना गर्नुभएको छ । राणाशाही बेलायती साम्राज्यवादको नोकर भएको भन्दै उहाँले ब्रिटिश र राणाहरूको मिलिभगत र थिचोमिचोको आलोचना गर्नुभएको छ ।

हक्की र स्वाभिमानी पुष्पलालको देशभक्तिको भावना अत्यन्त बलियो थियो । भारतको बनारसमा राजनीतिक शरणार्थी भएर बस्नु परे पनि भारतले नेपालमा गर्ने गरेको हस्तक्षेपको उहाँ आजीवन चर्को आलोचक रहनुभयो । नेपालको मामलामा भारतीय कम्युनिष्ट नेताहरूका कतिपय सल्लाहलाई समेत नेपालको पक्षमा नहुने देख्दा उहाँले नकार्नुभयो ।

कम्युनिष्ट पार्टीको प्रथम घोषणापत्रमा उहाँले ‘नेपालमा सामन्तवादी र साम्राज्यवादी प्रभुत्वलाई सदाका लागि अन्त्य गर्ने’ उल्लेख गर्दै लेख्नुभयो– “सामन्तवादी निरंकुश राजसत्ता र विदेशी शोषणको जुकालाई एकदम सफाचट गरी नेपाललाई पूर्ण तथा वास्तविक रूपले स्वतन्त्र गराउने । . . . अंग्रेज–अमेरिकन साम्राज्यवादीहरू र तिनका भारतीय कठपुतलीहरूसँग नाता तोडी सबै जातिको स्वतन्त्रता र शान्तिको निम्ति लडिरहेका प्रजातान्त्रिक राष्ट्रहरूसँग नाता जोड्ने ।”

आफ्नो यही मान्यतामा अविचल रहँदै उहाँले दिल्ली सम्झौताको विरोध गर्नुभयो र मध्यस्थताको नाममा भारतले खेलेको हस्तक्षेपकारी भूमिकाको लागि नेहरू सरकारको कडा आलोचना गर्नुभयो । सन् १९५० को असमान सन्धि, कोशी, गण्डक सम्झौता लगायत भारतका प्रत्येक हस्तक्षेपकारी घटनाको विरोध गर्दै नेपालको स्वतन्त्रता, स्वाधीनता र आफ्नो निर्णय नेपालले आफैं गर्छ भन्दै देशभक्तिको आफ्नो अडानमा कायम रहनुभयो ।

पुष्पलाल र मदन भण्डारी
नेपाल कम्युनिष्ट पार्टीमा पुष्पलालका विचारले २०४६ सालमा आएर मात्र मान्यता पायो । नेपाली कांग्रेस र कम्युनिष्ट मिलेर मात्र निरंकुश पञ्चायतलाई ढाल्न सकिन्छ भन्ने पुष्पलालको विचारलाई तत्कालिन नेकपा (माले)को महासचिवमा मदन भण्डारी छानिएपछि मात्र पुरा भयो । काँग्रेसका पुराना पुस्ताका नेताहरू कांग्रेस र कम्युनिष्ट मिल्नु हुँदैन भन्ने मान्यता राख्दथे । कांग्रेसका नेताहरू कम्युनिष्टसंग मिले पहिले कम्युनिष्टले राजा फाल्छ अनि कांग्रेस फाल्छ भन्ने मान्यता राख्दथे । यसको उदाहरण गणतन्त्र स्थापनाको खबर कृष्णप्रसाद भट्टराईलाई सुनाउन भएका रामचन्द्र पौडेललाई भट्टराईले दिएको जवाफबाटै प्रष्ट हुन्छ ।

राष्टियता, गणतन्त्र, लोकतन्त्रका विषयमा मदन भण्डारी पुष्पलालका विचारबाट निर्देशित हुनुहुन्थ्यो भन्न सकिन्छ । कम्युनिष्टले कांग्रेससंग मिलेर प्रजातन्त्रका स्थापनाका लागि लड्नु पर्छभन्दा त्यतिखेरको धेरैजसो कम्युनिष्टलाई यो कुरा नपचेको उहाँलाई गद्धार घोषणा गरेबाटै पुष्टि हुन्छ । तर पछि सोभियत संघलगायत पूर्वी युरोपमा कम्युनिष्ट शासन व्यवस्था एकपछि अर्को गर्दै ढल्न थालेपछि नेपाली कम्युनिष्टमा पनि पुष्पलालको दुरदर्शिता छर्लङ्ग भयो । यसैको आलोकमा नेकपा(माले) का महासचिव मदन भण्डारीले पार्टीमा जनताको बहुदलिय जनवादको नीति पास गराउनुभयो ।

गणतन्त्रको सवालमा तत्कालिन नेकपा (माले) प्रष्ट थियो । पुष्पलालजस्तै मदन भण्डारी सामन्तवादका नाइके राजतन्त्रलाई समुल नष्ट नगरेसम्म जनताका अधिकार सुरक्षित हुदैनन् भन्नेमा प्रष्ट हुनुहुन्थ्यो । २०४६ सालको आन्दोलन कांग्रेससंग मिलेर भएको थियो । आन्दोलनको विश्राम राजा, कांग्रेस र कम्युनिष्टहरूको त्रिपक्षीय सम्झौतामा भएको थियो । कांग्रेस आफ्नो पुरानै अडान राजाबिनाको प्रजातन्त्र काम लाग्दैन भन्नेमै थियो । त्यसैले २०४७ सालको संविधानमा गणतन्त्र अटाएन । तर, आफ्नो २९ बुँदे असहमतिमा तत्कालिन नेकपा मालेले गणतन्त्र र धर्मनिरपेक्षताको बुँदा पनि अटाएको छ । त्यतिबेला मदन भण्डारीले प्रष्ट शब्दमा भन्नु भएको थियो । ‘ठिकै छ, अहिलेलाई यतिमा नै सन्तोष गरौंला, तर यो त्रिपक्षिय सम्झौता हो । हाम्रोतर्फबाट यसको अक्षरसः पालना हुन्छ । यदी तीन पक्षमध्ये कसैले यसको उल्लंघन गरेमा हामी यसलाई पक्रेर बस्ने छैनौं र हाम्रा असहमतिका २९ बुँदा हाम्रो हाम्रो माग हुनेछ ।’

अहिले गणतन्त्र र धर्मनिरपेक्षता भन्नासाथ माओवादीको देन हो भन्ने जुन भाष्य निर्माण गरिएको छ । यसाई तत्कालिन (माले)ले २०४६ को नेपाल अधिराज्यको संविधानमा राखेका २९ बुँदे फरक मतले गलत सावित गरिदिन्छ । मदन भण्डारीको नेतृत्वको नेकपा (माले) २०४६ सालमै संविधानमा धर्मनिरपेक्षता र गणतन्त्र अटाउन जोडबल गर्ने पार्टी हो, जसको अविछिन्न उत्तराधिकारी अहिलेको नेकपा (एमाले) हो । राजा बीरेन्द्र रहुन्जेल उहाँले २०४६ सालको संविधानको उल्लंघन गर्नुभएन । त्यसैले नेकपा एमालेले पनि पूर्व प्रतिज्ञाअनुसार गणतन्त्रको कुरा उठाएन । जब राजा ज्ञानेन्द्र भए र संविधान उल्लंघन गरेर सम्पूर्ण शक्ति आफ्नो हातमा लिए तब एमालेले राखेको फरक मत ब्युतियो भन्ने तथ्य प्रष्ट हुँदैन र ?

कम्युनिष्ट पार्टी स्थापनाका बखत गरिएको घोषणा, पुष्पलालले उठाउनुभएको नागरिक अधिकारका कुरा र उहाँले बेला बेलामा लेख्नु भएका लेख, रचना र पुस्तकमा व्यक्त विचारलाई मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलिय जनवादमा अक्षरसः उतारिएको छ । त्यसैले पनि कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको सच्चा उत्तराधिकारी नेकपा (एमाले) मात्र हो भन्नलाई धेरै दिमाग खियाउनु पर्दैन ।